प्रकृतिमा अस्वभाविक परिवर्तन

संगिता सुहाङ

पाँचथर, ४ फागुन : बारीको डिलमा उर्किएको आलुचा एक महिना अगावै फुल्यो । चैत्र र बैशाख महिनामा झर्ने रुखका पातहरु समय नै नपुगी झरेर रुख सिक्राजस्तो भए । बैशाखमा फुल्ने लालीगुँरास दुई महिना अगावै फुलेर बन ढकमक्क भइसक्यो । वसन्त ऋतु नै नआइ वसन्त ऋतुमा हुने प्राकृतिक परिवर्तन देखिन थालेपछि मानिसहरु छक्क परेका छन् । चैत र वैशाख महिनामा ढकमक्क फुल्ने गुँरास माघ र फागुन महिनामै ढकमक्क फुलेले ओइलिन लागेको छ । प्रकृतिमा आएको परिवर्तको आधारमा किसानले बाली लगाँउछन् । दुइ महिना पछि हुने प्राकृतिक परिवर्तन दुई महिना अगावै देखिएपछि किसानहरु दोधारमा परेका छन् । “महिनाको आधारमा बाली लाउने बेला भएको छैन,” सिदिन ९ पापुन्दिनका चन्द्रप्रसाद खत्रीले भने “बोट बिरुवाले देखाएको संकेतको आधारमा बाली लगाउन ढिलो भइसक्यो ।” बारीको डिलमा वैशाख महिनामा जस्तो हरियो मुनाहरु पनाउन थालेको छ । “जलवायु परिवर्तको असर भन्ने सुनेको छु, के हो जलवायु परिवर्तन भनेको हामीलाई थाहा छैन,” खत्रीले भने । “समय अगावै ढकमक्क गुँरास फुलेको छ,” खत्रीले भने “वैशाखमा फुल्ने लालीगुँरास माघ फागुनमै फुलेपछि अचम्मित भएका छौँ ।” वनमा दुई महिना अगावै लालीगुँरास फुलेको  छ । समयनै नआइ फुलेको गुराँस रोगिएर किच्रिएको जस्तो देखिन्छ । गुँरासका फुलहरु साना साना छन् । बारीमा उर्किएको आलुचाको फुल पनि फष्टाएको छैन । दाना लाग्न थालेको आल्चा बोटमा अडिएको छैन । यस्तो हुन थालेपछि किसानहरु चिन्तित पनि भएका छन् ।
“किसानले बाली लगाउने समय छुट्याउन नसक्ने भए,” सिदिनका पूर्णबहादुर राईले भने “रुख विरुवामा आएको परिवर्तन बुझ्नै नसकिने भो ।” केही वर्ष यता पहाडको निकै लेकसम्म धान खेती हुन थालेको किसानहरु बताउँछन् । 
समयमा पानी नपरेको पनि निकै वर्ष भएको उनीहरुको भनाइ छ । “असोज महिनामा पानी नपर्नु पर्ने हो,” राइले भने “दुइ वर्ष भो दशैँको सिजनमा मुसलधारे पानी परेको ।” बेसीतिर हुने अधिकांश बालीहरु लेकसम्म हुन थालेको किसानहरु बताउँछन् । मौसम र प्रकृतिमा आएको यस्तो परिवर्तनको बारेमा किसानलाई जानकारी दिने कुनै निकाय छैन । प्रकृतिमा आएको अस्वभाविक परिवर्तन देख्दा मुख्य गरि किसानहरु पिरोलिन थालेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment