लोक्ता र अर्गेलीको व्यवसायिक खेतीमा इलामका किसान


इलाम, १ चैतः अव्यवस्थित कटान र फडानीका कारण लोप हुँदै आएको लोक्ता र अर्गेली खेतीबाट इलामका किसानले राम्रो आम्दानी लिन थालेका छन् । इलाममा वि.सं. २०४० साल अघिबाट खेती गरिदैं आएको लोक्ता र अर्गेली कटान सम्बन्धी ज्ञान अभावका कारण मासिदैं गएको थियो । जिल्ला वन कार्यालय, जडिबुटी सम्बन्धी काम गर्दै आएका गैरसरकारी संस्थाले यसको महत्व तथा कटान सम्बन्धी सचेतना जगाएपछि किसान आफैले संरक्षण गरी व्यवसायिक रुपमा खेती गर्दै आएका छन् । समुद्र सतहको १ हजार पाँच सय देखि २ हजार ३ सय मिटर सम्म अर्गेली र समुद्र सतहदेखि १ हजार ८ सय देखि २ हजार ६ सय मिटरसम्म लोक्ताको खेती हुने गरेको जिल्ला वन कार्यालय इलामले जनाएको छ । नेपाली कागज बनाउने र जापानी नोट बनाउन प्रयोग गरिने लोक्ताको स्थानीयस्तरमै कागज उद्योग स्थापना समेत हुँदै आएको छ । चेतना अभावका कारण अनियन्त्रित रुपमा फडानीका कारण लोप भएपनि अहिले किसानको जागरणका कारण लोक्ता र अर्गेलीको खेती हुँदै आएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए ।
इलामबाट लोक्ताको निकासी पैठारी सुरु भएपछि जिल्ला वन कार्यालयले ग्रामीण क्षेत्रमा यसको खेती प्रवद्र्धनका लागि केही वर्ष अघिदेखि नै अध्ययन सुरु गरेको थियो । वन कार्यालयले गोर्खे गाविसस्थित सिंहदेवी थुम्के सामुदायिक वनमा पहिलो पटक अध्ययन गरेको थियो । सो सामुदायिक वन क्षेत्रमा ३९ हेक्टर क्षेत्रफलमा लोक्ताको एउटै प्लट रहेकाले अध्ययन केन्द्र समेत बनाइएको वन कार्यालयले जनाएको छ । व्यवस्थापनका लागि समुदायमा हस्तान्तरण गरिएका वन, राष्ट्रिय वन बाहेक अहिले किसानस्तरमा यसको व्यवसायिक खेती बढ्दै गएको छ । जोगमाई, गोर्खे, चमैता, माबु, माइमझुवा, जमुना, साखेजुङ्ग लगायतका जिल्लाका एक दर्जन बढी गाउँका निजी, राष्ट्रिय र समुदायमा व्यवस्थापनका लागि हस्तान्तरण भएका वनमा लोक्ता अहिले प्रशस्त पाइने वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । छिटो बढ्ने र रोपिएको तीन वर्षदेखि उत्पादन निकाल्न सकिने लोक्ता किसानले खाद्यबाली मासेर २० रोपनीदेखि एक सय ५० रोपनीसम्म खेती गर्दै आएको जिल्ला वन अधिकृत श्रेष्ठले बताए । इलामबाट चालु आर्थिक वर्षको ६ महिनामा जिल्लाबाट १ हजार केजी लोक्ता र ४ हजार ६ सय केजी अर्गेली निकासी भइसकेको जिल्ला वन कार्यालयले जनाएको छ । लोक्ता र अर्गेलीको बोक्रा गुणस्तर हेरेर प्रतिकेजी ९० रुपैयाँदेखि १ सय ८० रुपैयाँ सम्म बिक्री हुने गरेको छ । कम गुणस्तरको लोक्ताको बोक्रा पनि न्युनतम ७५ रुपैयाँमा बिक्री हुने गरेको चमैताका किसान आस बहादुर राई बताउँछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment