कन्यामको रेडक्रस शाखा जिल्लाकै उत्कृष्ट


कन्याम, ३० फागुनः  नेपाल रेडक्रस सोसाइटी इलाम शाखाको ३० औं जिल्ला सभाका अवसरमा उत्कृष्ट उपशाखा, रक्तदाता र कर्मचारीलाई पुरस्कृत गरिएको छ । कन्याम उपशाखामा भएको सभाको उद्घाटन नेरेसो केन्द्रिय उपाध्यक्ष हरि निरौलाले गरेका थिए । समग्र गतिविधिहरुका आधारमा यो वर्ष कन्याम उपशाखा उत्कृष्ट उपशाखामा पर्न सफल भएको नेरेसो इलाम शाखाले जनाएको छ । यस्तै सबैभन्दा बढि रक्तसंकलन गर्ने पनि कन्याम उपशाखा नै छनौट भइ पुरस्कृत भएको छ । सभामा कन्याम उपशाखाका सभापति तारा कटुवाललाई पुरस्कार प्रदान गरिएको थियो । यस्तै युवा रेडक्रस सर्कल महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामलाई सबैभन्दा बढि रगत संकलन गर्ने सर्कलका रुपमा पुरस्कृत गरिएको थियो । यस्तै शाखामा कार्यरत कर्मचारी प्रेम भट्टराई पुरस्कृत भएका छन् । 
सभामा केन्द्रिय उपाध्यक्ष निरौलाले रेडक्रस इलामको गतिविधि प्रशंसायोग्य बन्दै गएको बताउँदै निकट भविष्यमा नै संघिय संरचना अनुसार रेडक्रसले आफ्ना गतिविधि बढाउने जानकारी दिए । नेरेसो मोरड. शाखाका अध्यक्ष सुवोधकुमार सिंहले रेडक्रसको मानवीय सेवाले गाउँ तहसम्म हात फैलाएको बताए । जिल्ला शाखा सभापति देवीप्रसाद गौतमको अध्यक्षतामा भएको सभामा जिल्ला शाखाका मन्त्री रविन्द्रप्रसाद श्रेष्ठले सांगठनिक एवम् आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सभामा नेरेसो सिद्धिथुम्का उपशाखा सभापति बलराम रिसाल, इकाराम प्रधान, श्रीप्रसाद बराल, प्रेमसागर पौडेल समेतका वक्ताले मन्तव्य राखेका थिए । सभामा कन्याम उपशाखालाई निशुल्क जग्गादान गर्नेलाई विशिष्ट सदस्यता प्रदान गरिएको थियो । आगामी ३१ औ जिल्ला सभा चुलाचुली उपशाखामा गर्ने निर्णय सभाले पारित गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment