माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप चैत्र १७ देखि, भारतको दुई सहित दश टिमको सहभागिता


इलाम, २ चैत्रः पुर्वी नेपालको प्रतिष्ठित माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डपको तेश्रो संस्करण चैत्र १७ गतेबाट हुने भएको छ । आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो । वि.सं. २०७१ सालबाट आयोजना गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । 
गोल्डकपमा भारतको २ सहित नेपालका ए डिभिजनका ८ वटा गरी जम्मा १० टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष निरोज खडगीले बताए । यस संस्करणबाट प्रतियोगिताको पुरस्कार राशी समेत बढाइएको छ । अघिल्लो संस्करणको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ७५ हजार रुपैंयाँ प्राप्त गरेकोमा यस संस्कणको बिजेताले नगद ४ लाख र उपबिजेताले २ लाख ५० हजार रुपैंयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । तेश्रो संस्करणको सर्वोत्कृष्ट खेलाडीले यामाहाको १५० सी.सीको मोटरसाइकल प्राप्त गर्नेछ  । 
त्यसै गरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार र म्याच अफ दि म्याच खेलाडीले जनही ७ हजार रुपैंयाँ प्राप्त गर्ने छन् । आयोजकका अनुसार प्रतियोगितामा भारतको दुर्गा स्टिल कोलकाता, ग्लोबल एफसी आसाम, रमपम झापा–११, रुपन्देही–११, संकटा, लक्ष्मी हुन्डाइ मनाङ मस्याङ्दी, तीन विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजक माइभ्याली फुटबल क्लब सहभागी हुनेछन् ।  प्रतियोगिता सम्पन्न गर्न आयोजकले ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । माइभ्याली फटबलका अध्यक्ष धिरेन चेम्जोङले दर्शक, स्थानीय उद्यमी व्यवसायी, वैदेशिक रोजगारमा रहेका फुटबल फ्यान र प्रतियोगिताको ‘स्पेशल दाता’ले गरेको आर्थिक सहयोग नै फुटबल खेल सम्पन्न गर्नमा सहयोग हुनेमा विश्वस्त रहेको बताए । प्रतियोगिताको प्रथम पुरस्कार इलाम जहरसिंहगाउँका तारा तथा रोजु सापकोटाले प्रदान गर्नेछन् । 
त्यसै गरी द्धितिय पुरस्कारको लागी बेलायतमा रहेको इलामेलीहरुले प्रतिवद्धता गरेको चेम्जोङले बताए । माइभ्याली गोल्डकपको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान भोड्का र यामाहा रहेका छन् । त्यसै गरी सह–प्रायोजक जिल्ला समन्वय समिति इलाम, इलाम नगरपालिका, पाथिभरा ट्रेडर्स, मेची पहाडी पर्यटन प्रर्वद्धन समिति लगायत रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
तेश्रो संस्करणको गोल्डकपको लागी प्याराफिट र स्टेज निर्माण बाहेक अन्य कार्यहरु सम्पन्न भइसकेको आयोजकले जनाएको छ । अघिल्लो २ संस्करण माघमा गरिएको पनि गोल्डकपमा मैदान मर्मत र मौसम प्रतिकुल भइदिँदा अघिल्लो संस्करणहरुमा समस्या भएपछि यस वर्ष चैत्रमा सारिएको हो । 
माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले भने ‘फागुनमा गर्ने लक्ष्य भएपनि देशका विभिन्न क्षेत्रहरुमा प्रतियोगता भएकाले चैतमा आयोजना गरिएको हो । आगामी दिनमा पनि मौसमले साथ दिएमा चैतमा गरिने तर मौसम प्रतिकुल भइदिएमा एन्फासँगको सल्लाहमा मिति तय गरिने छ’ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रतियोगिताको फाइनल खेल माघ २६ गते गरिने छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment