एघार महिनादेखि साउदी हिरासतमा इलामका युवक

नमीन ढकाल

माइ, ३ चैतः सुखद जीवनको कल्पना गरी साउदी अरब पुगेका इलामका एक युवक ११ महिनादेखि हिरासतमा कष्टप्रद जीवन बिताइरहेका छन् । उनले आफूलाई हिरासतबाट छुटाएर घर फर्काइदिन परिवारजन मार्फत सरकारलाई आग्रहसमेत गरेका छन् । माइ नगरपालिका ४ साविक दानाबारी–३ शुक्रबारे बजारका २९ वर्षिय प्रेमबहादुर राई (राजु) कम्पनीको सामान गाडीबाटै चोरी भएपछि रियाद नदिम स्थित प्रहरी हिरासतमा रहेको उनका दाजु चक्रबहादुर कुलुङले जानकारी दिए ।
सन् २०१२ जुन १२ तारिखका दिन क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियाद स्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लहरी) चालकको रुपमा उनी साउदी गएका थिए । सन् २०१५ सेप्टेम्बर ४ तारिखका दिन घर आइ पुनः २०१६ जनवरी १ तारिखका दिन उनी त्यही कम्पनीमा कामका लागि गएका थिए । २०१६ अप्रिल ३ तारिकका दिन उनको लहरीले बोकेको केबलतार चोरी भएपछि त्यसैको आरोपमा हिरासत जीवन बिताउन बाध्य भएका हुन् । यही आरोपमा उनलाइ अदालतले २ महिना कैद र ५० कोर्राको सजाय तोकेको थियो । सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिइ पुनः मुद्दा हालेपछि प्रहरीले हिरासतमा राखेर ३ लाख १० हजार रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिवाना तोकेको चक्रबहादुरले बताए । जरिवाना तिर्न नसक्ने भएपछि प्रेमबहादुर ११ महिनायता हिरासतमै छन् ।

‘जेलमा हालेको भए भाइले समयमा खाना र सुत्न पाउथ्यो तर हिरासतमा राखेका कारण खाने पिउने समयमा नदिने गरेकाले स्वास्थ्यमा समेत गम्भीर असर परेको छ । अब भाइको घर फर्काउने इच्छा त सपना मात्रै होला जस्तो भएको छ,’ चक्रबहादुरले भने, हिरासतमा दिनहुँ शारीरिक र मानसिक यातना सहन उनलाई निकै गाह्रो भइरहेको छ’ । हिरासतमा तिर्खा लागेका बेला पानीसमेत पिउन दिइएको छैन,’ प्रेमबहादुरले फोनमा पोखेको दुःख सुनाउँदै चक्रबहादुरले भने, ‘कम्पनीले गलत आरोप लगाएर हिरासतमा राखेको छ ।’ लहरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा पुगेपछि प्रेमबहादुर गाडी पार्किङ स्थलमा रोकी साथी भेट्न गएका थिए । त्यहीबेला लहरीसहित तार चोरी भएको थियो । चोरी भएको थाहा हुनेबितिकै कम्पनीलाई सम्र्पक गरी प्रहरीलाई जानकारी दिएको २ दिनपछि १० किमी टाढा रोमा भन्ने स्थानमा सिसा तोडफोड भएको अवस्थामा गाडी भेटिएपनि तार भने नभेटिएको उनका दाजु चक्रबहादुरले बताए । विदेशका कुदने गाडीमा जिपिएस प्रणाली हुने भएकाले कसले र किन चोरेर लग्यो भन्ने जानकारी पाइने भएतापनि कम्पनीले निर्दोष भाइलाई फसाएको उनको आरोप छ । भाइलाई र नेपाली दुतावासलाई कुवेतबाट फोन सम्र्पक गर्दा गर्दै महिनाको आधा तलब सकिने गरेको चक्रबहादुरले गुनासो गरे ।
नेपाली दुतावासले पहल नगरेको आरोप
प्रेमबहादुरको रिहाइका लागि पहल गरिदिन साउदीस्थित नेपाली दूतावासमा बारम्वार सम्र्पक गरेपनि, अहिलेसम्म उनको कागजात लैजानेबाहेक केही सहयोग हुन नसकेको पिडित परिवारको गुनासो छ ।
 ‘दूतावासका इन्चार्ज आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा उनीहरूले एकअर्कालाई सम्र्पक गर्नु भन्ने गरेका छन, यत्रो महिना भइसक्यो अहिलेसम्म पहल नहुँदा भाइ हिरासत मै बस्न बाध्य छ्,’ चक्रबहादुरले भने, सरकारले कुनै पहल गरिदियोस, प्रचण्ड नेतृत्वको सरकारले त धेरै जेल र हिरासतमा परेकालाई स्वदेश फर्कायो रे मेरो भाइलाई पनि फर्काइदियोस । दुतावासका कर्मचारी र मेनपावर अहिलेसम्म कम्पनीसँग सम्र्पकमा समेत गएका छैन्न, दुतावासले चाहेको खण्डमा निकालेर स्वदेश फर्काउने प्रक्रियाहरु चाल्न सक्छ रे तर केही सहयोग गरेको छैन’ चक्रबहादुरले दुखेसो पोखे । 
आर्थिक अवस्था दयनीय रहेका राईको घरमा सुत्केरी पत्नी, ७ वर्षिया छोरी र ६ महिनाको छोरा साथै बृद्ध आमा–बाबु मात्रै छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment