राजेश पराजुली
इलाम १४, चैतः इलाम नगरपालिका वडा नं. ७ कि नब्बे वर्षिय पनमाया बानियाँलाई नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ताबाट बुढेसकालमा सामान्य औषधी उपचार गर्न केहि हद सम्म भएपनि भरथेग गर्दै थियो । नेपाल सरकारको सामाजिक सुरक्षा कार्यविधि अनुसार गत मंसिर महिनादेखि बैंकबाट उक्त सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएपछि त्यो सुविधा उनलाई निकाल्नु न ओकल्नु भएको छ । बानियाँ अशक्त भएपछि गत ९ गते बुधबार उनकी छोरी सामाजिक सुरक्षा भत्ता लिन सदरमुकामस्थित माछापुच्छ«े बैंकको शाखामा आईन तर बैंकको झण्झटिलो नियम र नीतिले गर्दा उनी रित्तो हात फर्कनु प¥यो । यो समस्या पनमाया जस्तै जिल्लाका हजारौं अशक्त असहाय जेष्ठ नागरिकको पनि हो र यस्तो समस्या माछापुच्छ«े बैंकको मात्र हैन सबै बैंकको हो । सामाजिक सुरक्षा भत्ता दस्तखत गर्न नसक्ने ब्यक्ति बैंकमा नैं उपस्थित हुनु पर्ने बाध्यकारी नियम रहेको छ । यदी त्यस्ता व्यक्ति उपस्थित हुन नसकेमा वैकल्पिक व्यवस्था के गर्ने भन्ने विषयमा सबै बैंक मौन रहेका छन् ।
जिल्लास्थित एक्सेल डेभलेपमेन्ट बैंकले भने जेष्ठ नागरिकहरुको सहजताको लागि सामाजिक सुरक्षा वितरण गर्ने सम्बन्धित सरकारी निकायका सामाजिक परिचालकहरुले दस्तखत गर्न नजान्ने औंठाछाप लाउने जेष्ठ नागरिकहरुको नामावली अनुसार हकवालालाई उपलब्ध गराउने अथवा बैंकको प्रतिनिधिको रोहोवरमा सम्बन्धित स्थानमैं गएर भत्ता उपलब्ध गराउने जनाएको छ । तर एक्सेलले अन्त्यमा बैंकको नियमानुसार नआएमा सामाजिक सुरक्षा भत्ता दिन बाध्य नहुने पनि जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिल्लास्थित एक प्रमुख निकाय जिल्ला समन्वय समिति (तत्कालिन जिल्ला विकास समिति) इलामका सामाजिक सुरक्षा शाखा प्रमुख रविन्द्र श्रेष्ठका अनुसार नेपाल सरकारले ल्याएको कार्यविधि अनुसार अब सबै जेष्ठ नागरिकहरुले अनिवार्य रुपमा बैंकबाटै भत्ता लिनु पर्ने बताए । उनले भने– ‘पहिला स्थानीय निकायबाट वितरण गर्दा एकवर्ष सम्म सुरक्षा भत्ता लिन नआएमा त्यो रकम फ्रिज हुन्थ्यो तर अब बैंक मार्फत भएपछि जहिले झिक्दापनि हुन्छ ।’
बैंकबाट भत्ता वितरण गर्दा जेष्ठ नागरिकहरुलाई भएको असुविधा बारे कुनै गुनासो आएको छैन भन्ने चियाबारी दैनिकको जिज्ञासामा उनले हालसम्म कतैबाट गुनासो नआएको तर गाउँघर तिर समस्या हुन सक्ने बताए ।
सुरक्षा भत्ता लिन सम्बन्धित व्यक्तिलाई गाहे भएको जिल्लास्थित बैंकका प्रमुखहरु स्विर्काछन् । आफ्नो र बैंकको नाम उल्लेख नगर्ने शर्तमा इलामकै प्रतिष्ठित एक बैंकका प्रबन्धक भने– राष्ट्र बैंकको नियमानुसार बैंकहरु संचालन गर्नु सबै बैंकहरुको पहिलो दायित्व हो । तर पनि स्थानीय निकाय (जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका)का प्रमुखहरुले आधिकारिक रुपमा आफ्नो लेटरप्याडमा औठाछाप गर्ने जेष्ठ नागरिकहरु यिनीहरु हुन, उनीहरुलाई सुरक्षा भत्ता उपलब्ध गराईदिनु होला भनेर पत्राचार गरेमा हकवालालाई पनि सुरक्षा भत्ता उपलब्ध गराउन सकिने बताए ।

0 comments:
Post a Comment