बिनय तिम्सीना
इलाम, १५ चैतः साबिक इलाम नगरपालिका ५ सुकिलुम्बामा फाल्गुनन्द विमानस्थल निर्माण शुरुहुँदा स्थानीयले ठुलै सपना बुनेका थिए । तर, त्यो सपना अहिले मर्दै गएको छ । चारवर्ष अघि निर्माण शुरु हुँदा विमानस्थलकै पेटीमा घर भएकी नरमाया खातीलाई धेरैले भनेका थिए “अब काम दाम दुबै हुन्छ ।” त्यो आश्वासन पुरा भएन । निर्माणधिन विमानस्थलमा भेटिएका स्थानीय सूर्य तामाङ भन्छन्–‘नालीनै नबनाई एयरपोर्टको काम गरेकोले विस्थापितहरुले बनाएको घर पनि एयरपोर्टको भलले बगाउन थालेको छ ।’ कच्ची घरको पेटीमा उभिएर खातीले गुनासो गरिन् “विमानस्थलले न रोजगार न घरबार बनायो ।” दश रोपनी जमिन भएका उनीहरु अहिले एक रोपनी भन्दा कम जमिनमा खुम्चएिका छन् । मुआव्जा पाउने बेलामा टाठाबाठा आफन्तले पैसा लगेपछि उनीहरु करिब–करिब सुकुम्बासी बनेको आँखाबाट आँसु खसाउन खोज्दै उनले सुनाइन् । निर्माणाधिन विमानस्थलको पेटीमा घर भएको खाती परिवारका नौ जना सदस्य सानो चिमे घरमा बसेको निक्कै लामो समय भयो । वर्षा शुरु भएपछि उनीहरुको बास घरमा हुँदैन । खातीले सुनाइन् “जेठदेखि दशैसम्म अरुकै घरमा बास हुन्छ ।” यस वर्षको दशै उनीहरुले स्थानीय छिमेकी याम निरौलाको घरमा बित्यो । खातीले सुनाइन् “वर्षा लागेपछि राम्रोसँग सुताइ हुदैन एकदमै गाह्रो छ लालाबाला लिएर छिमेकीकोमा शरण लिन पुग्नु पर्छ ।” “हाम्रो जस्तै विजोक छ पाँच सात घरको ।” गिटी कुटेर गरीखाने नरमाया खाती जग्गा गुमेपछि धेरैदिन रुदै हिडेकी छन् । उनले आँशु झारौला जस्तो गरेर गिटी कुट्न समेत काम नपाएको सुनाइन् । मुआव्जा लिएर विमानस्थलबाट तल घर बनाएकी याङ्गीला शेर्पाको मन पनि पिरोलिएको छ । उनले विमानस्थल अब बन्दैन भन्ने हल्ला सुनेकी छन् । गाउँका अरुले पनि यस्तै सुनेका छन् । ज–जसले सुनेका छन् उनीहरु निक्कै निराश देखिन्छन् । शेर्पा भनिन् । उनी सहित आठघर पहिरोको जोखिममा पारेका छन् । “पिरै पिर छ, पहिरोले घर तान्न लागेको छ ।” यो वर्ष पनि भल व्यवस्थापन नगर्ने हो भने घर पुरै बगाउँछ । पहिरोको चपेटामा परेको जग्गा बेच्न खोज्दा पनि कसैले किन्दैन । उनले सुनाइन् “न मर्ने न बाँच्ने अवस्था बनायो ।”
स्थानीयलाई पहिले एयरपोर्ट बन्ला जस्तो लागेको थिएन । जिल्ला अगुवा पुगेर बन्छ, जग्गा देउ भनेपछि स्थानीय बसोबास छोडेर बाहिर जान तयार भएका थिए । निर्माणधिन एयरपोर्ट भन्दा अलिकमुनी घर भएकी इन्दिरा तामाङलाई पनि एयरपोर्ट निर्माणको काम सकिएला जस्तो लागेको छैन । पाँच वर्षमा काम सकिन्छ भनेको सुनेकी उनले चार वर्षमा केहि नभएपछि निरास बनेको बताइन् । उनी भन्छिन् ‘वर्षादको समयमा एयरपोर्टको नालीबाट आएको पानीले घरै बगाउला जस्तो गर्छ बास घरमा हुँदैन’ तामाङलाई दुखका दिन आउलान जस्तै लागेका थियो अहिले त्यस्तै भयो । “पहुँच पुग्ने ठाउँमा कराई रहेका छौ, कसैले कुरा सुन्दैन ।” उनले भनिन् । बनाएको नाली समेत भत्किएपछि जोखिम बढेको उनले बताइन् । उनले पनि खाती परिवारको जस्तै गुनासो गरिन् “वर्षा लागेपछि राम्रोसँग सुताइ हुदैन एकदमै गाह्रो छ ।”
सदरमुकामवाट पाँच किलोमिटर दक्षिणमा रहेको सुकिलुम्बामा विमानस्थल बनाउन लामो समयसम्मको जग्गा व्यवस्थापनको प्रयास भएको थियो । जग्गा खाली गरेपछि चार वर्ष अघि काम थालिएको हो । चाहिए जति बजेट नआउदा सबै काम अलपत्र परेको स्थानीयहरु बताउँछन् । एयरपोर्ट बनेपछि कमाइ होला भन्ने सपना बोेकेका स्थानीयको घरखेत निर्माणाधिन एयरपोर्टको भेलले वर्षेनी बगाउँने गरेको छ । मेचीका पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ र सिक्किमकासमेत बासिन्दाकालागि सहज हुने ठानिएको छ । विमानस्थलको कच्ची धावनमार्ग निर्माण गरिएको वर्षदिन पछि मात्र नालीको काम सुरु भएको थियो । चालु आर्थिक वर्षमा एक करोड छुट्टिए पनि काम सुरु भएको छैन । यो वर्षको बजेटसहित आठ करोड खर्च भएपनि कामले गति नपाएपछि स्थानीय निरास छन् ।
नागरिक उड्यन प्राधिकरणका अनुसार विमानस्थललाई कालोपत्रेसहित संचालनका लागि ४३ करोड बजेट लाग्ने छ । वर्षमा एक करोड मात्र आउने हो भने अब ३५ वर्षमा मात्र विमानस्थलको काम सकिने प्राधिकरणको अनुमान छ । प्राधिकरणका इन्जिनियर पुष्प न्यौपानेका अनुसार डे«नाइज व्यवस्थापनमा १५ करोड, रनवे कालोपत्रेलाई १७ करोड, टर्मिनल भवनलगायतमा छ करोड हाराहारी बजेट आवश्यक छ । उनले आवश्यक बजेट आएमा काम तीन वर्षमा सम्पन्न हुन्छ । उनले कामै रोकिने हल्ला भने गलत भएको बताए । अहिले ढल निकासमा भएको समस्या समाधानको लागि ड्रेनाइज व्यवस्थापनको लागि टेन्डर खुलाउन लागेको र यो काम असार भन्दा अगाडि गरेर ढल निकासको व्यवस्थापन गर्ने उनको भनाई छ । उनका अनुसार २०७४ वैशाख भित्रमा एयरपोर्टमा फ्लाईट टेस्ट ल्याण्डिङ जसरी हुनेछ । तर अहिले देखि काम शुरु गर्ने हो भने पनि एयरपोर्टबाट दुई ठाउँमा गएको भलको नाली माईखोला सम्म पु¥याउने काम यो वर्षादमा सकिने अवस्था देखिदैन ।
१८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २६ रोपनी जग्गा जिल्लास्थित सरोकारवाला निकाय र व्यक्तिबाट दुई करोड २६ लाख रकम संकलनगरी स्थानीयबाट अधिग्रहण गरिएको थियो । । ६० मिटर चौडा र सात सय ६० मिटर लम्बाई भएको कच्ची धावनमार्ग निर्माण भइरहेको छ । एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हँुदा शिलान्यास गरेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेताहरुको चासो पछिल्लो समयमा घटेको स्थानीयको आरोप छ । शिलान्यास अघिनै यो विमानस्थल बनाउन प्राविधिक रुपमा उपयुक्त नभएको विज्ञहरुले सुझाव दिएका थिए । उनीहरुले झापाको विमानस्थल नजिक रहेको, सडकको सहज पहुँच भएको कारण देखाउँदै विमानस्थल बनाउन आवश्य नभएको सुझाव दिएका थिए । विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे, नाली निमाण, विमान पार्किङ र कार पार्किङ, भञ्ज्याङगदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

0 comments:
Post a Comment