इलाम, २१ फागुन : इलामको दक्षिणी भेगमा प्रसस्त केराखेतीको संभावना भएपनि प्राविधिक सहयोगको अभावमा किसानले भने जस्तो आम्दानी लिन सकेका छैन्न । इलामको दक्षिणी गाविस दानाबारी, महमाई, चिसापानी, साक्फारा, बाँझो तल्लो भाग लगायतका क्षेत्रमा केरा खेती हुँदै आएपनि कृषकहरुले प्राविधिक सहयोग नपाउँदा यसलाई व्यवसायिक रुप दिन सकेका छैन्न । यस क्षेत्रमा १ हजार बढी किसानहरुले केरा खेती गर्ने गरेका छन ।
यस क्षेत्रमा उत्पादित केरा दिनहँु झापाका बजार हुँदै काठमाण्डौसम्म पुग्ने गरेको छ । दानाबारी–४ कालीखोलाको केरा राजधानीमा पनि लोकप्रिय बनेको छ । केरा खेती गर्दा आम्दानी साथसाथै अन्य बोटविरुवाको संरक्षण समेत हुने भएकाले किसानहरूमा केरा खेतीमा आर्कषण बढदै गएपनि मलजल र प्राविधिक सेवा नपाउँदा भने जस्तो आम्दानी लिन नसकेको किसान बिशाल आर्चाय बताउँछन् । हिउँदयाममा पनि हरियो नै रहने केराका बोटले अन्य विरुवा हुकाउँदा छहारीको काम गर्छ । यस्तै केराको बुङ्गाको प्रयोगबाट अचार र दाम्चाको पशुआहारा बनाउने गरिन्छ ।
स्थानीय किसानले चिनीचम्पा, मालभोग, धुस्रे, झप्री, जहाजी जातका केरा मिश्रित रुपमा खेती गर्ने गरेका छन । तर सरकारी स्तरबाट प्राविधिक सहयोग नपाँउदा केराको बोट नै सुक्ने गरेको र मेहनत अनुसारको आम्दानी लिन समस्या भएको किसानहरुको गुनासो छ ।
जिल्ला कृषि विकास कार्यालयले २ बर्ष अघि मोरङको कानेपोखरीबाट २ हजार उन्नत जातको रोवेस्ट्रा जातको केराको विरुवा ल्याएर किसानहरुलाई वितरण गरेपनि त्यसपछि मलजल र केरा खेती प्रर्वद्धनको कार्यक्रम नल्याएकाले केरा खेतीले व्यवसायिक रुप लिन नसकेको कृषि सेवा केन्द्र प्रमुख अनिलकुमार तिम्सिना बताउँछन । पानी पर्याप्त नभएका झोडा क्षेत्रमा जङ्गल सरह केराका बगान भेटिन्छन् । केराखेतीलाई पानी समेत त्यत्ति आवश्यक नपर्ने भएकाले उपयोगमा आउन नसकेको जमिनमा खेती गरेर किसानले आम्दानी लिने गरेका छन । यहाँको केराले तराईका शहरमा पनि बजार पाउने गरेका छन् । पछिल्लो समयमा झापाको खुदुनाबारीबाट दानाबारीसम्मको सडक ग्राभेल भएपछि नियमित सवारीसाधन चल्न थालेकाले उत्पादन राजधानी र तराईका बजारमा पु¥याउन सहज भएको छ । स्थानीय नीजि बगानमा रहेका केरा झापाका व्यापारीले बगानमा घरीको ५० देखी २ सय रुपैयाँसम्ममा खरिद गरी बजारमा लगेर ५ सय रुपैयाँभन्दा बढीमा विक्री गर्ने गरेका छन । राम्रो मूल्य नपाउने किसानले साइकल वा ट्याक्टरमा राखेर सोझै सङ्कलन केन्द्रमा पु¥याउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङमा २५ हेक्टर बढी क्षेत्रफलमा गरिने केरा खेतीबाट २६० मेट्रिक टन उत्पादन भइ गत बर्ष १ करोड मुल्य बरावरको कारोवार भएको देखिन्छ । स्थानिय किसानहरुले सम्वन्धित निकायसँग प्राविधिक र आवश्यक सहयोग वढाउन माग समेत गरेका छन् ।
0 comments:
Post a Comment