नमीन ढकाल
इलाम, २१ चैत्रः विभागीय टिम नेपाल प्रहरी इलाममा जारी तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली गोल्डपकको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेश्रो क्वाटरफाइनलमा उपाधीको दावेदार मानिएको लक्ष्मी हुन्डाइ मनाङ मस्याङदीको चुनौती १–० ले पन्छाउदै प्रहरीले आर्मीसँगको सेमीफाइनल भेट पक्का गरेको हो । पुलिसको जितमा अविशेक रिजालले गरेको गोल नै निर्णायक बन्यो । खेलको ३५ औ मिनेटमा कप्तान भोला सिलबालको फ्रिकिकलाई मनाङका गोलकिपर दिनेश थापा मगरले पन्च गरेपछि अविशेकले रिवाउन्ड गोल गरेका थिए । दुवै टिमले गोल गर्ने आधा दर्जन अवसर गुमाए । पहिलो हाफ आक्रमक बनेको पुलिसले दोश्रो हाफमा रक्षात्मक खेल देखायो । खेलको दोश्रो मिनेटमा नै पुलिसले गोल गर्ने अवसर गुमायो । मनाङका गोलकिपर विट भएको अवस्थामा रवि पासवानले गोल गर्ने मौका गुमाए । चौथो मिनेटमा पुलिसका स्टाइकर भरत शाहले काउन्टरमा गोल गर्ने मौका गुमाए । मनाङलाई निकै नै दबावमा राखेको पुलिसका अविशेक रिजालले १७ औ मिनेटमा पहेलो काड खान पुगे । पहिलो हाफको ३८ औ मिनेटमा मनाङका अफ्रिकन खेलाडी डेनीको प्रहार पोष्टमाथीबाट बाहिरियो । दोश्रो हाफमा हुस्सुका कारण २ पटक खेल रोकियो । १७ औ मिनेटमा मैदान हुस्सुले ढाकेपछि खेल स्थगित भएको थियो । पुन खेल संचालन भएको ९ मिनेटपछि हुस्सुकै कारण करिव ५ मिनेट खेल रोकियो । खेलपछि प्रक्रिया दिँदै मनाङ प्रशिक्षक छिरिङ लोप्साङले इलाममा पहिलो पटक सहभागी भएकाले खेलमैदानको बारेमा जानकारी नभएपछि पराजित हुनुपरेको बताए । ‘ खेलमैदानका कारण मनाङले आफनौ खेल्न सकेन । बल र मैदान खराव भएकाले पनि खेलाडीले टेक्निकल खेल देखाउन सकेन्न’ । यता पुलिसका कप्तान भोला सिलबालले निकै नै प्रतिस्पर्धात्मक भएपनि खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए । ‘मनाङ जस्तो फर्ममा रहेको टिम भनेपछि जित्नुपर्छ भन्ने मानसिक्ता बोकेकाले जित्न सफल भयौ ।’ कप्तान सिलबालको प्रतिक्रिया थियो । मनाङ यस सिजनमा धनगढी गोल्डकप, आहा गोल्डकप, झापा गोल्डकप र सर्लाही गोल्डकपछि माइभ्याली जित्ने लक्ष्यका साथ इलाम आएको थियो । गत संस्करणमा सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर मनाङले सहभागिता फिर्ता लिएको थियो ।
मंगलबार हुने अन्तिम क्वाटरफाइनलमा सिमएजी संकटा र साविक उपविजेता विभागीय टिम शसस्त्र प्रहरी बल विच प्रतिस्पर्धा हुनेछ । संकटा अञ्जन विष्ट, रञ्जन विष्ट, सुनिल बल, अनन्त तामाङ लगायतका १९ बर्षमुनीका खेलाडीका साथ मैदान उत्रदैछ । जितसँगै पुलिसले २३ गते हुने पहिलो सेमीपmाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । खेलको म्यान अफ दि म्याच पुलिसका कप्तान भोला सिलबाल घोषित भए । उनले नगद ७ हजार प्राप्त गरे । २६ गते फाइनल हुने खेलको बिजेताले नगद ४ लाख र उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गर्नेछ । यस संस्करणमा सर्वोत्कृष्ट घोषित हुने खेलाडीले यामाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार प्राप्त गर्नेछ ।
0 comments:
Post a Comment