‘मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला’


इलाम, २५ चैत्रः नेपालको राष्ट्रिय टिमबाट खेल खेलिसकेका विमल घर्तीमगर, विशाल श्रेष्ठ, कर्ण लिम्बु, विक्रम लामा, अनन्त तामाङ, भरत खवास, जुमानु राईले तेश्रो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगितामा खेल्ने क्रममा इलाम र इलामको ठूलो टुंडिखेल चाखिसके । फाइनलिष्ट बनेका रमपम झापा ११ का कर्ण लिम्बु र त्रिभुवन आर्मी क्लवका भरत खवास आजको फाइनल खेलमा आमनेसामना गर्दैछन् । कर्णको सशक्त प्रहारसँग चिरपरिचित विकेश कुथुको भने इलाममा छुट्टै चर्चा छ । २३ बर्षपछि पहिलोपटक नेपाललाई अन्तराष्ट्रिय उपाधि जिताउने बंगबन्धु गोल्डकप प्रतियोगितामा उनै इलामेली नवयुग श्रेष्ठ र विकेश कुथुको जोडी जमेको थियो । भटाभट गोल गर्ने हिरो नवयुग थिए भने धमाधम गोल सेभ गर्ने विकेश थिए । विकेश र नवयुग दुवै त्रिभुवन आर्मीका खेलाडी हुन् र दुवै रुमपार्टनर पनि । संयोगवश नवयुगकै गृह जिल्लामा खेल खेल्न आउदा टिममा नवयुग छैनन् । विकेश भन्छन्, ‘नवयुगलाई धेरै मिस गरेको छु ।’ यतिवेला नवयुग इन्जर्ड त छदै छन्, एनआरएन अष्टे«लियाकोे सम्मान ग्रहण गर्न उनी यतिवेला अष्ट्रेलिया पुगेका छन् ।
सिन्धुपाल्चोकको बाह्रविसेमा विरेन्द्र र मिना कुथुले २४ बर्ष पहिले विकेशलाई धरतीमा लोकार्पण गर्दा त्यो जोडीले कल्पना पनि गरेको थिएन, एक दिन विकेशले देशकै नाम राख्नेछ भनेर । व्यापारीक पृष्ठभुमिका कुथु परिवारको खेल लगाव उत्तिकै थियो । विकेशका दाई विएम पनि राष्ट्रिय टीमबाट खेल खेलिसकेका छन् भने उनका निनी रुपा कुथु कुनै समयमा राष्ट्रिय खेलाडी थिए । बाह्रविसेमै उच्च शिक्षा पुरा गरेर काठमाण्डौ खाल्डोमा भविष्य खोज्न पुगेका विकेशलाई उतिनै वेला अमेरिका हानिने सोच आयो । साथी समिन महतको सल्लाह र सहयोगले उनी अमेरिका सपना त्यागेर सरस्वती क्लबसंग अनुबन्धित भए । सरस्वती पछि हिमालयन शेर्पा हुदै उपेन्द्रमान सिंहको प्रेरणा र सहयोगले मध्यपुर ठिमी हुदै राष्ट्रिय टिममा २०६८ सालमा डेब्यु गरे ।
कक्षामा सबैभन्दा अग्लो भएकोले गोलरक्षक बस्न साथीहरुले दिएको दवावले नै उनलाई गोलरक्षक बनाएको चाखलाग्दो कथा विकेश सुनाउँछन् । फुटबलका फ्यानहरुनै खेलको १२ औं खेलाडी भएको बताउदै कुथुले भने, ‘अरु खेलाडीले फ्यानलाई कस्तो रेस्पोन्स गर्नुहुन्छ थाहा छैन, तर म सामाजिक सञ्जालहरुमा सबैलाई रेस्पोन्स गर्छु । फ्यान नै नभए हामी कहाँबाट खेलाडी र ।’ खेल सकिनेवित्तिकै विकेश वरपर झुम्मिने भीडले यसबर्ष विकेशको चर्चा पुष्टि गरिरहेको छ । पुरुष भन्दा पनि धेरै महिला फ्यानहरुले घेरिएपनि चकलेटी हिरो विकेश फ्ल्र्ट गर्नेहरुलाई शुरुमै भन्ने गरेका छन्, ‘मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment