गाई पालनबाट स्वरोजगारको प्रयासमा चपागाईं ‘अन्तरे’

गोविन्द पौडेल

रोङ, २ जेठ:दिनहु हजारौ युवाहरु  रोजगारको खोजीमा विदेशिरहेको समयमा गाउँघरमै बसेर पनि केही गर्न सकिने उदहारण बनेका छन् साबिक इरौटार–९ हाल रोङ ४ का प्रेम सागर चापागाईं । दाजुभाइमा अन्तरे भाइ भएको कारण सबैले अन्तरे भनेमा मात्र चिनिने चापागाईले आफ्नै घरमा गाई फारम खोलेर स्वरोजगार त बनेकै छन् साथै उनको कारोवारको मुल्याङ्कनमा आगामी दिनमा धेरै सम्भावना देखिएको छ । विगत तीन वर्ष यता ब्यवसायिक रुपले गाई पालन गर्ने उद्देश्य राखेर राष्ट्रिय वाणिज्य बैकबाट कृषि कर्जा लिएर १२ लाखको लगानीमा गाई फारम खोलेका चापागाईको थाप्लोम हाल पनि करिब पाच लाख रुपैंयाँ ऋण त छदैछ तर उनको गोठमा एघार माउ उन्नत जातको गाई सहित करिब बीस लाख रुपैंयाँको जेथो भने रहेको छ । यसबाट पनि उनी आशावादी देखिएका छन् ।
बढीमा सोह् माउ सम्म गाई पाल्ने लक्ष्य राखेर एकसय बीस फूट लामो गोठ बनाएर ब्यवसाय थालेको उनको गोठमा हाल  होलिस्टेन, जर्सी लगायत दक्षिण भारतमा डेनमार्कबाट भित्राइएको अति उन्नत एक सहित एघार माउ गाई रहेको छ । उनको गोठका रहेको गाईले दैनिक सत्ताइस लिटर सम्म दुध दिने गरेको चापागाईको भनाइ रहेको छ । केही रुपैयाँ नाफा भएमा ल्याएको गाई तुरुन्तै खरिद बिक्री समेत गर्ने गरेका चापागाईको गोठका हाल पाँच माउ गाईमात्र दुहुना रहेकोमा अहिले उनी दैनिक अस्सी लिटर दुध बेच्दै गरेका छन् । नजिकै झापाको शान्तिनगरमा रहेको एनएमसी डेरीको चिस्यान केन्द्रमा लगेर प्रतिलिटर पैतालिस रुपैयाँमा बिक्री गर्दा सबै खर्च काटेर बाउन्न प्रतिसत शुद्ध नाफा हुने उनको अनुभव रहेको छ । हालसम्म परिवारको सदस्यबाट नै काम गरिरहेको र सबैको रोजगारी कटाएर त्यतिको मात्रामा हुने फाइदा रहेकोले आफूले लिएको कर्जा असुल गरेमा सबै नाफा आफ्नै हुने भएकोले उनमा गाई पालनबाट थप आशा जागेको हो । शान्तिनगरमा चार बिघा जमिन भाडामा लिएर डाले र अन्य घाँसको खेती गरेका उनलाई गोठ सुधार कार्यको लागि जिल्ला कृषि विकास कार्यालय इलामले दुईलाख रुपैंयाँ अनुदान सहयोगको साथै विभिन्न खोप र कृतिम गर्भाधानको सुविधा समेत दिने गरेको छ  । 
जिल्ला पशु सेवा कार्यालय इलामले दिएको विभिन्न जातका घाँस सहित स्थानिय जातको डाले घाँस खुवाइने र अम्लिोसोको सुकुटी बनाएर भण्डारण गरि पछि सम्म खुवाइने गरेको कारण घाँसको कुनै समस्या नरहेको उनको भनाइ रहेको छ । चापागाई फूर्सद निकालेर तरकारी खेतीमा समेत उत्तिकै सक्रिय देखिएका छन् । मौसमी बेमौसमी तरकारी र अलैची खेती गर्ने गरेका उनी गोठमा हुने प्रशस्त गोबर र गहुतको प्रयोग गरेर तरकारी रोपेकोमा वार्षिक दुई–चार लाख रुपैंयाँ तरकारी खेतीबाट नै आम्दानी लिने गरेको उनी बताउँछन । 
भविष्यमा उत्पादित दुधबाट दुग्ध परिकार ललीपप र खुवाको परिकार बनाउने उद्योग खोल्ने लक्ष राखेका उनले अरुलाइ पनि व्यवसायिक गाई पालन गर्न सके ठूलो उद्योग खोली स्वरोजगार बन्न र वर्तमान बेरोजगारी समस्या समेत हल गर्न सकिने सल्लाह दिने गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment