बलात्कारका घटनामा कमी आएन, इलाममा सत्ताईस जबरजस्ती करणीको घटना


इलाम, १९ वैशाख : महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम भए पनि पूर्वमा महिला हिंसामा कमी आउन नसकेको प्रहरी तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष २०७३/०७४को ९ महिनाको अवधिमा पूर्वका झापासहित १६ जिल्लामा दुई सय ४६ जना महिला जवरजस्ती करणीको शिकार बनेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको तथ्यांकमा पूर्वका मोरङ, झापा, सुनसरी, इलाम लगायतका जिल्लामा जवरजस्ती करणीका घटनामा बृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा मोरङ जिल्लामा ४६, झापामा ४३, सुनसरीमा ४२, इलाममा २७, सिराहामा १८, पाँचथर, उदयपुर र सप्तरीमा १०–१०, भोजपुरमा ९, ताप्लेजुङ, धनकुटा र संखुवासभामा ६–६, सोलुखुम्बुमा ४, खोटाङ, ओखलढुंगा र तेह्रथुम जिल्लामा ३–३ वटा जबरजस्ती करणी भएको छ । विगतका भन्दा केही कमी भए पनि बलात्कारका घटनामा सोचेजस्तो उपलब्धी हासिल गर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय विभिन्न प्रविधिको विकासले महिला हिंसामा बृद्धि भएको अनुसन्धानबाट खुलेको जनाइएको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख रमेशकुमार भट्टराईले पूर्वका जिल्ला शिक्षित भनेर चिनिए पनि बलात्कारका घटनामा बृद्धि हुनु दुःखद् भएको बताए । उनले महिलाहरु आफ्नै घरपरिवारमा पनि सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरे ।
प्रहरीले सचेतनामूलक कार्यक्रमहरु गरिरहेको भन्दै विगतका भन्दा केही कमी भए पनि बलात्कारका घटनामा त्यस्तो खासै ठूलो कमी ल्याउन भने नसकिएको उनले स्वीकार गरे । प्रहरीका अनुसार चालू अािर्थक वर्ष २०७१÷०७२ मा ३ सय ४ जना महिला बलात्कारको सिकार बनेका थिए भने आर्थिक वर्ष २०७२/०७३ मा २ सय ८८ महिला बलात्कृत हुनुपरेको थियो । चालू आर्थिक वर्षमा पनि बलात्कारको घटना खासै नघटेको प्रहरीको तथ्यांकले प्रष्ट पारेको छ । चालू आर्थिक वर्षको ९ महिनामा २ सय ४६ महिला बलात्कारको शिकार भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा १ सय ५५ महिलालाई बलात्कारको प्रयास गरिएको थियो भने २०७२/०७३ मा १ सय ३० र चालू आर्थिक वर्षको ९ महिनामा १ सय ९ जना महिलालाई जबरजस्ती करणी गर्न खोजिएको प्रहरीले जनाएको छ । अपराधमा संलग्नलाई पक्राउ गरेर कारवाही गरे पनि यस्ता महिला हिंसाका घटनाहरुमा कमी नआउनु समाजका लागि चुनौतिको विषय बनेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पछिल्लो समय बहुविवाहका घटना पनि उस्तै रहेको प्रहरीले जनाएको छ । चालू आर्थिक वर्ष २०७१/०७२ मा १ सय ३२ आर्थिक वर्ष २०७२/०७३ मा १ सय २१ चालू आर्थिक वर्ष २०७३/०७४ चैत मसान्तसम्म ९५ वटा उजुरी दर्ता भइसकेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको तथ्यांकमा उल्लेख गरिएको छ । पछिल्लो समय पूर्वमा बाल विवाहका घटनामा भने उल्लेख्य कमी आएको तथ्यांकमा जनाइएको छ । आर्थिक वर्ष २०७१/०७२ मा ७ आर्थिक वर्ष २०७२/०७३ मा ३ र चालू आर्थिक वर्षको चैत समान्त सम्मा २ वटा बाल विवाहका मुद्दा दर्ता भएको प्रहरीेले जनाएको छ । महिलामाथि हुने हिंसामा बोक्सीको आरोप अन्तर्गत आर्थिक वर्ष २०७१/०७२ मा १३ आर्थिक वर्ष २०७२/०७३ मा १० चालू आर्थिक वर्षको चैत समान्तसम्ममा ९ वटा मुद्दा दर्ता भइसकेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । उनका अनुसार घरेलु हिंसामा भने उल्लेख्य कमी आएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा एउटा मात्र घरेलु हिंसाको मुद्दा परेको जनाएका छन् । महिला हिंसामा कमी आएको प्रहरीको तथ्यांकमा उल्लेख गरिए पनि मानव बेचबिखनमा भने खासै कमी आउन नसकेको पाइएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा ४५ आर्थिक वर्ष २०७२/०७३ मा ४४ र चालू आर्थिक वर्षको ९ महिनामा २९ महिला बेचबिखनमा परेको प्रहरीले जनाएको छ । महिला हिंसामा पछिल्लो समय आफन्त नै संलग्न रहेको प्रहरीको उजुरीमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा हाडनाता करणी अन्तर्गत २ महिला बलात्कारको सिकार बनेका थिए भने चालू आर्थिक वर्षको ९ महिनामा ६ जना महिला बलात्कारको सिकार बन्नु परेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । महिला हिंसाका घटनामा आफन्त नै संलग्न भएको घटनाले उल्लेख्य रुपमा यसलाई न्यूनिकरण गर्न चुनौतीको विषय बनेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख भट्टराईको भनाइ छ ।
के छ कानूनमा ?
बलात्कार मुद्दामा उमेर अनुसार कैद सजाय फरक–फरक रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक निरौलाले बताए । उनका अनुसार १० वर्षमुनीका बालिकालाई बलात्कार गरेमा १० देखि १५ वर्ष कैद १४ वर्षमुनीका बालिकालाई ८ देखि १२ वर्ष कैद, १६ वर्षमुनीका किशोरीलाई जबरजस्ती करणी गरेमा ६ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था कानूनमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै १६ वर्ष माथिका महिलालाई बलात्कार गरेको खण्डमा ५ देखि ८ वर्षसम्म जेल जानुपर्ने कानूनी व्यवस्था रहेको छ । यसमा शारीरिक असक्त, सामूहिक बलात्कार भएमा उमेर अनुसार थप ५ वर्ष कैद सजाय हुने व्यवस्था रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । उनका अनुसार हाडनाता करणी गरेमा जन्मकैदसम्मको सजाय हुने व्यवस्था कानूनमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment