व्यवसायी पलायन हुन थालेपछि पशुपतिनगर सुनसान बन्दै

नमीन ढकाल

इलाम, ३ जेठः भारतसँग सिमाना जोडिएको इलामको पशुपतिनगरमा व्यवसाय गर्दै आएका रिजाल स्टोरका प्रोपाइटर कुमार रिजालको दैनिकी पसल खोल्ने र बस्ने मात्रै हुन्छ । केही वर्षअघिसम्म ग्राहकको भिडले बोल्न नभ्याउने उनी अहिले पसलमा दिनभर बस्दा एक सय रुपैयाँको बिक्री हुन मुस्किल भएको बताउँछन् । ‘पहिलोको जस्तो व्यापार फर्किन्छ की भनेर बस्दै आएको छु’ । रिजाल भन्छन ‘व्यापार राम्रो नहुने भयो भने झापा तिरै व्यापार गर्ने सोच रहेको छ । वर्षैपिच्छे व्यापार घट्दो अवस्था भएकाले सार्ने कि राख्ने दोधारमा छु ।’ भारतमा चिनियाँ सामग्री सस्तो मुल्यमा पाइने गरेकाले भारतका व्यापारी र ग्राहक नआउने गरेको रिजालले बताए । मिरिक, दार्जिलिङ, सिक्किम, कालिङ्पोङ, गान्टोक क्षेत्रबाट व्यापारी र ग्राहक पहिले प्रशस्त आउँने पशुपतिनगरमा अहिले फाट्टफुट्ट आउने गरेका छन् ।
ताप्लेजुङ तेल्लोकबाट पशुपतिनगरमा व्यापार गर्दै आएका कुमार गुरुङको गुनासो पनि उस्तै छ । भारत छिर्ने ढाट छेउमै होलसेल र खुद्रा सामग्रीको वि.सं.२०५० सालदेखि तयारी कपडा र सुख्खा खाने सामग्रीको व्यापार गर्दै आएका गुरुङले पशुपतिगरमा व्यपारको भविष्य नभएको बताए । ‘भारतमा चाइनिज सामग्री सोझै निर्यात भएपछि यहाँको व्यापारमा कमी आएकै छ । उनी भन्छन ‘आएका पर्यटक र व्यापारीले थोरै सामग्री खरिद गरेर लाँदा पनि दुई तिरकै प्रहरीले अवरोध गर्ने गरेका छन् ।’ पशुपतिनगर आएका पर्यटकले सानो एउटा सामग्री लाँदा भारत तर्फबाट सीमा सुरक्षा बल र नेपालबाट प्रहरीबाट चेकजाँचले गर्दा अहिले पर्यटक घुम्ने र जाने गरेको गुरुङको भनाइ छ । ‘पहिलेको भन्दा अहिले पर्यटकको आवतजावत बढ्दै गएको पनि व्यापार घट्दो छ’ । उनी भन्छन– ‘यहाँको बजारमा कस्मेटिकका सामग्री खरिद बिक्री भएपनि भारत लान पर्यटकलाई गाहे हुने गरेको छ ।’
सानो खुद्रा व्यपार गर्ने मात्रै हैन ठुलो कारोबार गर्दै आएका व्यवसायी पनि घट्दो व्यपारका कारण विस्थापित हुने अवस्थामा पुगेका छन् । ३५ वर्षदेखि व्यापार गर्दै आएका महावीर इम्पोरियमका प्रोपाइटर नरेश अग्रवाल भन्छन ‘बिहानदेखि बेलुकीसम्म बस्दापनि एक सय रुपैयाँको व्यापार हुदैन ।’ दैनिक आवश्यकिय सामग्रीको व्यापार गर्दै आएका अग्रवालका अनुसार चाइनिज सामग्री चीनबाट सोझै भारत आउने भएकाले पशुपतिनगर सुक्दै गएको हो । भारतका बजारमा सोझै सामग्री निर्यात हुदै गएको र नेपालमा सामग्री खरिद गर्ने व्यापारी र ग्राहकलाई भारतीय सीमा सुरक्षा बलले धेरै चेकजाँच गर्दै आएको व्यवसायीहरुको गुनासो छ  । एसएसबीको चेकजाँचका कारण दार्जिलिङ, सुकिया, मिरिक क्षेत्रका व्यापारी पनि पशुपतिनगर आउन छोडेर सिलिगुडी जान थालेका छन् ।
३० वर्षदेखि व्यापार गर्दै आएका युनिभर्सल स्टोरका प्रोपाइटर मिलनकुमार श्रेष्ठका अनुसार भारतीय व्यापारीमा भर पर्ने पशुपतिनगर बजारका एक सय २० व्यापारी अन्यत्र गएका छन् । भारतको भन्दा नेपालको भन्सार दर दोब्बर भएकाले ‘फोरेन गुड्स’को क्रेज घट्दै गएको श्रेष्ठको भनाइ छ । ‘घरभाडा तिर्न नसकेर एक सय २० जना व्यपारी विस्थापित भएको अवस्था छ । श्रेष्ठ भन्छन– ‘अहिलेसम्म ८० व्यापारी भएपनि दशैपछाडि २० जना जति व्यापारी पशुपतिनगर छोड्ने मनस्थितिमा आएका छन् ।’ उनी भन्छन ‘मेरो घरमा बस्दै आएका व्यापारी पनि दशैपछि भारतको सिलिगुडी गएर व्यापार गर्ने बताउँदैछन् ।’ व्यापार घट्दै आएपछि कतिपय घरधनीहरुले घरभाडा कम गर्दै आएका छन् । तर व्यापार हुदै नभएपछि व्यापारी बस्ने अवस्था हुदैन श्रेष्ठ भन्छन् । उद्योग वाणिज्य संघ पशुपतिनगरका अध्यक्ष प्रमोद राईका अनुसार नेपालमा भन्सार कार्यालय भएपनि भारतपट्टि भन्सार कार्यालयहरु नभएकाले पशुपतिनगरको व्यापार क्षेत्र घट्दै गएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment