- टीका खतिवडा
इलाम, : आगामी वर्ष माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्न २० लाख बढी रकम बचेको छ । गत चैतमा इलाम सदरमुकाममा सञ्चालित माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता तेस्रो संस्करणको हिसाब किताब सार्वजनिकिकरण तथा वार्षिक साधारण सभाका क्रममा सो जानकारी गराइएको हो ।
गत वर्षको बचत रकम, प्रायोजक, आर्थिक सहयोग, टिकट, स्टल लगायतबाट ८२ लाख ७६ हजार १ सय ७ रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष कमल सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रगति विवरणमा उल्लेख छ । त्यस्तै खेल मैदान मर्मत, अस्थाई प्याराफिट निर्माण, टिम भत्ता औषधि उपचार, पुरस्कार लगायतमा ६३ लाख ३ हजार ४ सय ६० रकम खर्च भएको र १८ लाख २३ हजार ९ सय ७१ रुपैयाँ बैंकमा जम्मा रहेको कोषाध्यक्ष सुवेदीले जानकारी दिए ।

गत वर्ष सञ्चालित प्रतियोगिताबाट ११ लाख ५४ हजार ९ सय पचहत्तर रुपैयाँ रकम बाँचेको थियो । प्रायोजकबाट १० लाख, ४९ हजार २ सय, दाताहरुबाट १२ लाख ६६ हजार नौ सय अड्चालीस, सिजनल टिकट बिक्रीबाट ६ लाख ३६ हजार नौ सय पन्चानब्बे, गेट मनीबाट २७ लाख १६ हजार पाँच सय पैतीस, लिलाम बिक्रीबाट १ लाख ४० हजार र स्टलबाट १८ हजार रकम आम्दानी भएको थियो ।
खर्च तर्फ पुरस्कार ८ लाख ८७ हजार चार सय ५०, वि.सं.२०७३ सालमा खेलमैदानको पूर्वाधार विकास १७ लाख, ४१ हजार ६१, वि.सं.२०७४ मा मैदान मर्मत २ लाख, अस्थाइ प्याराफिट निर्माणमा ३ लाख ६५ हजार २ सय २० र टिम यातायात खर्च ४ लाख ८७ हजार ६ सय ४० खर्च भएको आयब्याय सार्वजनिक गरिएको थियो । त्यस्तै टिम दैनिक भत्ता ११ लाख २५ हजार ४०, खेल भत्ता १ लाख ५४ हजार, निर्णायक, आवास तथा भोजन ४६ हजार ८ सय ४०, निर्णायक दैनिक भत्ता १ लाख ३० हजार, औषधि उपचार ३३ हजार ३ सय ८३, कार्यालय ब्यवस्थापन २७ हजार १ सय ३० रुपैंयाँ खर्च भएको कोषाध्यक्ष सुवेदीले प्रस्तुत गरेको आर्थिक विवरणमा उल्लेख छ । छपाईमा १ लाख २२ हजार ७ सय ८५, सञ्चार प्रसार प्रचार २० हजार, जलपानमा १ लाख १२ हजार ४ सय ४५, प्रतियोगिता सहभागिता ४ लाख ५ हजार ७ सय ७०, आयोजकको खेलाडी यातायात २६ हजार २ सय, गाडी भाडा २७ हजार, अतिथि सत्कार १ लाख ७० हजार ९ सय ५०, फ्रेम कदर पत्र ९ हजार, ट्रफी मेडल ४४ हजार ७ सय ३६ र विविध खर्च गरि ६३ लाख ३ हजार ४ सय ६० खर्च भएको आर्थिक विवरणमा उल्लेख गरिएको छ । प्याराफिटमा प्रयोग गरिएको बाँस बिक्रीबाट एक लाख चालीस हजार, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, एनआइसी एसिया बैंक लगायतबाट उदघोष गरेर दिन बाँकी तथा टिकट बिक्रीबाट उठ्नबाँकी गरेर दुई लाख बढी रकम अझै जम्मा नभएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
नेतृत्वको ध्यान जान जरुरी : अध्यक्ष चेम्जोङ
कार्यक्रममा माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले जिल्ला सदरमुकामको एक मात्र ठुलो टुँडिखेल स्तरिकरण गर्ने कार्यमा यहाँका राजनीति नेतृत्वले समेत चासो दिनु पर्ने बताएका छन् । स्थानिय तहको निर्वाचन पछि गाउँपालिका तथा नगरपालिकाहरु आफैँ समृद्ध बन्दै गइरहेको तर सदरमुकाम सुनसान हुने स्थिति आउने भन्दै इलाम नगरपालिका अर्थात सदरमुकामलाई खेल पर्यटनका रुपमा अगाडी बढाइनु पर्ने बताएका थिए । सदरमुकाममा मानिसको भिड जम्मा गराउन विगतका प्रतियोगिता सफल भएको भन्दै अध्यक्ष चेम्जोङले यसलाई निरन्तरता दिने तर्फ सोच्ने बेला आएको बताएका थिए । हाल सम्म मैदानको मर्मतमा नै बढी रकम खर्च भइरहेको उल्लेख गर्दै उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुग्ने खेलाडी भने उत्पादन गर्न नसकिएको बताएका थिए । त्यस्तै उनले अब देखि माईभ्याली फुटबल प्रतियोगितालाई स्थानीय निकायले आफ्नै कार्यक्रममा समावेश गरेर संचालन गर्नुपर्ने समेत बताए ।
एम्बसलेन्स र सहकारी सञ्चालन गरिने
यस अघिका प्रतियोगिताका प्रथम पुरस्कारका दाता सूर्योदय नगरपालिकाका निवासी दम्पती तारा र रोजु सापकोटाले माइभ्याली गोल्डकपलाई निःशुल्क एम्वुलेन्स उपलब्ध गराएका छन् । उनीहरुले माइभ्याली गोल्डकपको निरन्तर क्रियाकलाप सञ्चालनमा सहयोग गर्ने उद्देश्यले सो एम्वुलेन्स उपलब्ध गराउने भएका हुन् । प्रक्रिया पु¥याएर सो एम्बुलेन्स ल्याइने सचिव दिनेश काफ्लेले जानकारी दिए । त्यस्तै माइभ्याली फुटबल क्लबले बचत सहकारी सञ्चालन गर्ने भएको छ । शुक्रबार भएको सभाले सहकारी र एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव सर्वसहमत रुपमा पारित गरेको हो । माइभ्याली गोल्डकपलाई निरन्तरता दिन तथा क्रियाकलाप देखाइ राख्न समेत एम्बुलेन्स र सहकारी सञ्चालनले माइभ्यालीलाई फाइदा पुग्ने अध्यक्ष चेम्जोङले बताए ।
सञ्चार उपसमितिमा पराजुली
माइभ्याली गोल्डकपको सञ्चार उपसमितिको संयोजकमा चियाबारी दैनिकका प्रकाशक तथा प्रेस सेन्टर इलामका अध्यक्ष राजेश पराजुली नियुक्त भएका छन् । उनलाई माइभ्याली फुटवल क्लबका क्रियाकलाप प्रसार प्रचार गर्न सञ्चार माध्यम समक्ष पु¥याउन सञ्चार उपसमितिको जिम्मा दिइएको बताइएको छ । गत प्रतियोगितामा समेत पराजुली प्रसार प्रचार समिति संयोजक रहेका थिए ।