
इलाम, : पुष्प व्यवसायलाई व्यवसायिकरण गरी अघि बढे वैदेशिक रोजगारमा जाने क्रममा न्युनिकरण हुन सक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विदेशमा गएर तातो घाममा पसिना बगाउनु भन्दा अहिले देशमा आयोजना भईरहने विभिन्न कार्यक्रमहरुमा प्रचलित रहेको फुलका बुकेहरु बनाउने व्यवसायमा लागे रोजगारीको उत्तम माध्यम हुनेमा सबै वक्ताहरुको एकै धारणा रहेको थियो । हाम्रो उद्यम इलाम र फ्लोरिकल्चर एशोसिएसन नेपालले इलाममा आयोजना गरेको पाँच दिने ‘कट फ्लावर एरेन्जमेन्ट’ तालिमको समापनमा उक्त धारणा आएको हो ।
इलाम सदरमुकाममा संचालन भएको तालिममा देशभरबाट अध्ययन गर्ने बागवानी संकायका २४ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । तालिममा कट फ्लावरबाट फुलको बुके बनाउने, गाडी सजाउने, हाते बुके बनाउने, अतिथि ब्याज बनाउने, दुबोको माला बनाउने, घर सजाउने लगायतका पुष्प सामाग्री बनाउन सिकेको तालिमका सहभागीहरुले बताए । तालिममा फ्लोरिकल्चर एशोसिएसन नेपालका प्रशिक्षक सिताराम पन्त तथा प्रकाश दवाडीले सहजीकरण गरेका थिए ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाका मेयर महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, प्रहरी उपरिक्षक विपिन कर्माचार्य, स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्का फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु, महिला जागरण संघकी अध्यक्ष विष्णु दाहाल, उद्योग विकास शाखाका नविन पौडेल लगायतका वक्ताहरुले पुष्प व्यवसायको प्रशंसा गरेका थिए । कार्यक्रम हाम्रो उद्यम इलामकी अध्यक्ष सुसिला सापकोटाको अध्यक्षतामा भएको थियो ।