तमोर किनारा माझीटारबासीलाई ‘सफा पिउने पानी एकादेशको कथा’

पाँचथर :  पाँचथर र तेह्रथुम जिल्लाको सीमानामा रहेको माझीटारमा बसोबास गर्ने बासिन्दा तमोर नदी र हेवा खोलाको धमिलो पानी पिउन बाध्य छन् । सोमबार बिहान केही महिलाहरु गाग्रीमा पानी बोकेर आउँदै थिए । कोही खोलाको धमिलो पानी भरिरहेका थिए । यस्तो धमिलो पानी किन बोक्नु भएको भनी चन्द्रकुमारी माझीलाई संचारकर्मीले प्रश्न राख्दा उनले भनिन्, ‘तीन वर्ष अगाडि खानेपानी वितरण गर्न बनाइएको पक्की धारामा पानी आएकै छैन, हामी वर्षौदेखि यही खोलामा बग्ने पानी खाइरहेका छौ ।’ यो चन्द्रकुमारीको मात्रै समस्या होइन, उनीजस्तै माझीटारबासी सबै महिलाको भनाई हो । 
स्थानीयहरु भन्छन्, ‘खोलो सङलिन्छ कि भनेर नपर्खेको पनि होइन तर तमोर र हेवा खोलामा बाढी बढ्न थालेपछि त्यही खोलाको लेदो पानी भरेर प्यास मेटाउने गरेका छौँ ।’ स्थानीय दिलकुमारी तामाङ भन्छिन्, ‘दुईवटा खोलामध्ये जता सङ्लो हुन्छ, त्यतैको पानी ल्याएर खाने हो ।’ अरु विकल्प नै छैन के गर्ने त उनको प्रतिप्रश्न छ । पाँचथरको फिदिम नगरपालिका ४, हिलिहाङ गाउँपालिका ७ मा रहेको तमोर नदी र हेवा खोला किनारमा करिब ३५ घर माझीहरु बसोबास गर्छन् । उनीहरु पुस्तौंदेखि तमोर र हेवा खोलाको पानी पिउन बाध्य छन् । माझीटारबासीलाई अहिले पनि धारामा सफा पानी आउँछ भन्ने विषय एकादेशको कथा जस्तो लाग्छ रे । ‘हाम्रो नाममा युनिसेफ भन्ने संस्थादेखि विभिन्न निकायहरुले पानी दिने कुरा नगरेका पनि होइनन्, साँचेखोला खानेपानी आयोजनाको नाममा तीनवटा पक्की धारा पनि बनिसकेका छन् । तर पानी आउने कुरामा विश्वासै छैन’ पञ्चीमाया माझीको गुनासो छ । 
‘पहिले त बर्खामा मात्र पानी धमिलो हुन्थ्यो तर, अहिले विद्युत उत्पादन गर्नेहरुले बाह्रै महिना खोला धमिल्याइ दिन्छन्’ माझीटारबासीको गुनासो हो यो । ‘खोलाको पानी ल्याउने हो अनि गाग्रीमा तैरिएपछि खाने हो । सधैं त्यही पानी खाइरहेका छौ’ पञ्चीमाया भन्छिन् । खोलाको पानी खानुपर्दा बालबालिकाहरु पानीजन्य रोगको शिकार हुने गरेको स्थानीय वीरबहादुर माझी सुनाउँछन् । ‘पानीकै कारण भएका कतिपय समस्याहरु के भएर भएको हो भन्ने बारेको चेतना नहुँनु र सम्बन्धित ठाउँमा गएर यसबारे पहुँच अभिबृद्धि गर्न नसक्नु पनि यहाँको पछौटेपनको अर्को समस्या हो’ उनी थप्छन्, ‘चुनाव आउँदा खानेपानी, विजुली र अरु सुविधाहरु दिन्छौं भन्दै नेताहरु आउँछन् । चुनाव सकिएपछि अहिलेसम्म कोही पनि फर्केर आएका छैनन् ।’ 
फिदिम र हिलिहाङमा बसोबास गरिरहेका माझी जातिहरुको खानेपानीको समस्यालाई न त फिदिमस्थित बृहत खानेपानी आयोजनाले पूरा गरिदिएको छ । न त साँचेखोलाले नै उनीहरुकै लागि भनेर निर्माण गरेको आयोजना सम्पन्न गरेर पानीको आपूर्ति गरेको छ । स्रोत साधन र शक्तिको पहुँचभन्दा बाहिर रहेका यस्ता वर्गको लागि राज्यको ध्यानाकर्षण हुनुपर्ने सरोकारवालाहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता