सडक पुगेसँगै इलामका गाउँगाउँमा तरकारी, घरघरमा व्यापारी

  • नमीन ढकाल

इलाम,  इलामका ग्रामीण क्षेत्रमा सडक विस्तार भएपछि किसानहरुलाई तरकारी बेच्न सहज भएको छ । व्यापारीहरु किसानको घरमै पुगेर तरकारी खरिद गर्दै आएका छन् । इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका लगायतका किसानहरुले आफूले उत्पादन गरेको तरकारी झापाका बजारहरुमा राम्रो मूल्यमा बिक्री गर्दै आएका छन् । यहाँका किसानहरुले उत्पादन गरेको तरकारी झापाका व्यापारीहरु घरैमा आएर खरिद गर्ने गरेका छन् । 
अहिले रोङ गाउँपालिकाको कोल्बुङ सूर्योदय नगरपालिकाको कन्याम, पञ्चकन्या लगायतका क्षेत्रमा उत्पादन हुने तरकारी झापाका बजारहरुमा बिहान उज्यालो नहुँदै पुग्छन् । किसानहरुले उत्पादन गरेको टमाटर, साग, आलु, ईस्कुस लगायतका तरकारी मेची राजमार्गमा निकालेपछि सहज रुपमा झापाका बजारहरुमा पुग्ने गरेको छ । तराईका अन्य जिल्लाहरुमा उत्पादन भएको तरकारीभन्दा इलामको तरकारी ताजा हुने भएकोले तरकारीको मूल्य राम्रो हुने गरेको हो । रोङ गाउँपालिकाको कोल्बुङ र सूर्योदय नगरपालिकाको कन्याम र पञ्चकन्याका किसानहरुले व्यवसायिक रुपमा ईस्कुस उत्पादन गर्दै आएका छन् । यहाँका किसानहरुले सिजनमा दैनिक १० टन बढी ईस्कुस झापाको बिर्तामोड, दमक, धुलाबारी र भारतको सिलगुडी बजारमा बिक्रीका लागि लैजाने गरेका छन् । ईस्कुस खेतीबाट मात्र यस क्षेत्रका किसानहरुले वर्षमा पाँच लाखसम्म आम्दानी गर्दै आएको पाइन्छ । ईस्कुसको जरा, मुन्टा र फलसमेत बिक्री हुने भएकाले यसलाई किसानले आम्दानीको स्रोत बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 
कन्यामको तारगाउँका किसानले व्यवसायिक काँक्रा खेती गरेर वर्षमा ५० लाख बढी आम्दानी गर्दै आएका छन् । काँक्रा खेतीबाट कन्याम तारगाउँका किसानले गत वर्ष ५० लाख आम्दानी गरेका थिए । किसानहरुले मौसमी र बेमौसमी तरकारी खेती गरी यसैको आम्दानीले घर खर्च चलाउँदै आएका छन् । जिल्लाका सीमावर्ती गाविसका किसानले पनि व्यवसायिक तरकारी खेतीबाट आम्दानी गर्दै आएको गोर्खे गाविसका राजेन गौतमले बताए । सीमा क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीबाट वार्षिक एक करोड भारतीय रुपैयाँ नेपाल भित्रिने गरेको पशुपतिनगरका कमल गदालले बताए । भारतीय व्यपारीले सीमावर्ती मानेभञ्ज्याङ, पशुपतिनगर, जौबारी, तुम्लिङ लगायका व्यापारिक केन्द्रबाट तरकारी खरिद गर्दै आएका छन् । यस क्षेत्रमा उत्पादित तरकारी भारतको पर्यटकीय क्षेत्र दार्जिलिङमा निकासी हुने गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा खाद्यबाली नहुने भएकाले तरकारी खेती किसानको मुख्य आयस्रोत रहेको छ । 
माई नगरपालिकामा व्यवसायिक रुपमा केरा खेती फस्टाउँदै गएको छ । चुरे क्षेत्र केरा खेतीका लागि उपुयुक्त भएपछि किसानले व्यवसायिक रुपमा खेती गर्दै आएका हुन् । बजारको समस्या नहुने र श्रम पनि कम लाग्ने गरेका कारण केरा खेतीमा किसानको आकर्षण बढेको हो । 
केरा खेती पछिल्लो समय सो क्षेत्रको मुख्य नगदेबालीसमेत हुँदै गएको छ । किसानका अनुसार केराखेती उत्पादन राम्रो भएपनि प्राविधिक सहयोगको अभाव छ । माई नगरपालिका क्षेत्रको दानाबारीबाट एक हप्तामा १० ट्रयाक्टरभन्दा बढी केरा झापाका बजारमा निकासी हुने गरेको छ । प्राविधिक सहयोग भए अझ केरा खेतीको विस्तार गर्न सकिने स्थानीय किसान बताउँछन् । अहिले माई नगरपालिकाको १,२,४ र ५ नम्बरमा व्यवसायिक रुपमा चिनीचम्पा, जाहाजी, माल्भोग जातका केराहरु किसानले खेती हुँदै आएको छ । किसानले ठेकेदारी तरिकाले १० हजारदेखि ६० हजारसम्ममा बगान बिक्री गर्दै आएका छन् । माई नगरपालिकामा उत्पादन हुने केरा काठमाडांैमा कालीखोलाको केराको नामले चिनिन्छ ।
थाहाखबरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता