
इलाम, ८ पुस : मृत्युदण्डको सजायवाट जोगिएका इलामका भिमबहादुर दियाली नेपाल फर्किएका छन् । इलामको साविकको एकतप्पा गाविस ७ घर भएका दियाली मृत्यु दण्डको सजाय हुनबाट जोगिए पश्चात नेपाल फर्किएका हुन् । कम्पनी मालिकको आदेशको पालना गर्ने क्रममा गएको वर्ष फेव्रुअरी १८ तारिखमा दियाली पक्राउ परेको नेपाली दुतावास मलेशियाले जनाएको छ । नेपाली दुतावासको पहलमा वकिलको ब्यवस्था गरेपछि उनको पक्षमा वहस पैरवी शुरुभएको थियो । सेप्टेम्बर १५ तारिखका दिन मकामातिङगी अदालतले दियालीलाई निर्दोष ठहर गर्दै सफाइ दिएको थियो । सोही दिनमै उनले आफू निर्दोष भएको र छुटेको भन्दै वकिलको फेसबुकमार्फत भिडियो समेत सार्वजनिक गरेका थिए ।
दियालीले भनेका थिए, ’मेरो गाँजा केश थियोे जुन मेरो थिएन अर्को साथीको थियो, ऊ गयो । मलाई आज छाडिदियो मेरो लयरले छुटाइदियो ।’ आफू क्याम्पमा भएको जानकारी गराउँदै छिटो डकुमेन्ट, पैसा र टिकट काटेर पठाइदिन उनले आग्रह गरेका थिए । दियालीका जिल्लाबासी तथा इलामेली बुद्धिमान राईले माइपोखरी न्युजलाई भने, ’मलाई दियालीको बारेमा रेशम बराइलीले जानकारी दिएका थिए त्यसपछि दुतावासमा गएर कुरा राखे सुरु देखिनै फलोअप गरिरहे ।’ उनले मलेसियाको नेपाली दुतावास परिवार र पूर्व सभामुख सुवासचन्द्र नेम्बांगको विशेष पहल रहेको समेत जानकारी दिए । दियाली सेक्युरिटी कम्पनीमा कार्यरत रहेका थिए । रोजगारी सकेर घर फर्कन थालेको अवस्थामा उनलाई लागु पदार्थ झोलामा बोेकेको भन्दै फसाउन खोजिएको थियो । उनले सुगाईवुलो जेलमा करिब डेढ वर्ष र क्याम्पमा तीन महिना बिताएका थिए । नेपाल पुगे पश्चात आफूलाई सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् । साथै भनेका छन्,’ अन्जानमा कसैको पनि केही सामानहरु नबोक्नुहोला ।’