अलैचीको मुल्यमा १० हजारले वृद्धि, किसान उत्साहित

इलाम, १६ पुसः पूर्वी पहाडका किसानका लागि आम्दानीको मुख्य नगदेबाली अलैंचीको मूल्यमा सुधार आएपछि किसानहरु खुशी छन । उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैंची मूल्यमा केही बृद्धि भएपछि किसानको मुहारमा उत्साह थपिएको हो । मूल्यमा निरन्तर गिरावटपछि किसान अलैंची खेतीको विकल्प खोज्न लागेका थिए । मूल्यमा आएको सुधारले केही आशा पलाएको माइमझुवाका कृषक देशबीर गुरुङ्गले बताए । अन्तराष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैंची सकिएकाले नेपालको उत्पादनले केही मूल्य पाउन थालेको व्यापारी बताउँछन् ।
इलाम सहित जिल्लाका बजारहरुमा अहिले अलैंची प्रतिमन ३३ हजारदेखि ३७ हजार रुपैयाँसम्म कारोबार हुन थालेको छ । उच्च गुणस्तरको अलैंची प्रतिमन ३७ हजार रुपैयाँमा कारोबार हुन थालेको अलैंची व्यवसायी संघ इलामका अध्यक्ष बिजय खाकीले बताए । साता दिनयता अलैंचीको मूल्यमा सुधार आएको उनको भनाई छ । अलैंची मूल्यमा आएको सुधारले किसान र व्यापारीमा उत्साह थपेको छ । घटेको मूल्यमा प्रतिमन १२÷१३ हजार रुपैयाँ बृद्धि भएपछि किसान खुसी भएका हुन् ।
विगतका वर्षमा प्रतिमन एक लाख रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर यो वर्ष सुरुआतमा २५ हजारको हाराहारीमा झरेको थियो । नेपालको नगदेबाली निर्यातमा सबैभन्दा ठूलो हिस्सा अलैंचीले ओगटेको छ । ‘कालो सुन’को नामले चिनिएको अलैंची खेतीसँग किसानको प्रतिष्ठा जोडिएकाले पहाडमा यसलाई विशेष रूपमा हेर्ने गरिएको छ । जिल्लामा अलैंची निर्यातबाट वर्षेनि करोडौं रकम भित्रिने गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता