सिँचाइ समस्याले चुलाचुलीमा फल्दैन धान, कोदो बेचेर चामलको जोहो

  • गोपाल झापाली

चुलाचुली, ३ पुसः सदरमुकाम पुग्न एक दिन नै माया मार्नुपर्छ । गाउँपालिका कार्यालय पुग्न पनि एक बिहान छुट्याउनै पर्छ । इलामको दक्षिणी चुलाचुलीका बासिन्दा सिँचाइ अभावमा कोदो रोपेर आफ्नो बारी भर्ने गरेका छन् । मदिरा उत्पादनको प्रमुख कच्चा पदार्थको रुपमा बिक्री हुने यही कोदो यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत हो । आफ्नै जमिन भए पनि यहाँका बासिन्दाले अन्नबाली लगाउन सक्दैनन् । सिँचाइका लागि आकाशे झरीको विकल्प छैन । विद्युत् पनि घरायसी प्रयोजनका लाग मात्रै पुगेको छ, त्यो पनि गाउँलेकै लागतमा । त्यसैले विद्युतीय मोटरहरु समेत गाडिएका छैनन् । त्यसैले कम पानीमा पनि फल्ने कोदो रोपेर त्यसको बिक्री गरी चामलको जोहो गर्नु यहाँका बासिन्दाको बाध्यता हो । 
बेच्न पनि कठिनाइ 
चुलाचुली वडा नं. ४ की गंगा घतानीलाई भएको आफ्नो करिब १० कट्ठामा लगाएको कोदो अहिले टिप्ने धमाधम छ । तर, मूल्य कति पाउने हो कुनै यकिन छैन । नजिकै रहेको बजार भनेकै झापाको दमक हो । तर, त्यहाँसम्म पुग्न पनि कुनै नियमित सवारीसाधन चल्दैनन् । रतुवा खोलामा पुल निर्माणाधीन रहेकाले साइकलमा समेत आउजाउ कठिन छ । त्यसैले उत्पादित कोदो बिक्री गर्नसमेत कठिनाइ भएको उनले बताइन् । बजारसम्म पु¥याउँदा प्रतिकिलो ५० रुपैयाँ मूल्य पाउने भए पनि गाउँबाटै ३५÷४० रुपैयाँमा बेच्नुपरेको उनको दुखेसो छ । थोरै खेती गर्नेको त गाउँमै पनि खपत हुन्छ । 
तर, धेरै फलाउनेलाई भने समस्या छ । स्थानीय ६३ वर्षीया सुकमाया लिम्बूले भनिन्, ‘थोरै हुनेको त गाउँमै जाँड बनाउनेले लान्छन्, धेरै फल्यो भने चाही बेच्ने पीर हुन्छ ।’ सक्नेहरुले बजारसम्म लगेर बेच्ने गरेको भए पनि नसक्नेले घरैमा आउने व्यापारीले जति मूल्य दिन्छन्, त्यतिमै बेच्न बाध्य हुन्छन् । इलामसँगको साइनो सम्बन्ध भनेको कानुनी मात्रै हो, सम्पूर्ण जीवनशैली र व्यवहार झापामा निर्भर छ । त्यसैले इलाम जोड्ने बाटोभन्दा पनि झापा जोड्ने पुल छिटो बने हुन्थ्यो भन्छिन्, उनी । 
वर्षैभरि पानीको पीर 
यहाँका बासिन्दालाई वर्षैभरि पानीको पीर हुन्छ । हिउँदमा हिउँदे बाली लगाउन पाउँदैनन् । वर्षायाममा समेत पर्याप्त वर्षा भएन भने खेत बाँझै हुन्छ । फेरि अलिक बढी पानी प¥यो पनि टापुका बासिन्दा भएर बस्नुपर्ने गरेको ३२ वर्षीय बमबहादुर लावतीले बताए । 
एकातर्फ चाँजु र अर्कातर्फ रतुवा खोलाले घेरेको बस्तीमा वर्षायामका करिब २ महिना बाहिरी सम्पर्क नै टुट्ने गरेको उनले बताए । झापाको दमक बजार पुगेर नियमित मजदुरी गर्ने र साँझ घरै फर्कने गरेका उनले खोलाकै कारण वर्षायाममा कैयौँ दिन रोजीरोटी नै मर्ने गरेको बताए । आउजाउ र खेतीका लागि मात्रै होइन । यहाँ पिउने पानीको पनि उस्तै कठिनाइ छ । खानेपानीको धारा छैनन् । ट्युवेल गाड्दासमेत जहाँतहीँ पानी आउँदैन । धेरै खर्च गरेर गहिरो गाड्नुपर्ने भएकाले सबैले ट्युबेल गाड्न समेत सक्दैनन् । भएका केही ट्युबेलबाट पनि सफा पानी नआउने समस्या छ । स्थानीय गंगा घतानीले भनिन्, ‘सबैले ट्युबेल गाड्न सकिँदैन । हामै्रमा पनि छैन । अर्काको बाट ल्याएर चलाउने गरेका छौं ।’ तर, भएका ट्युबेलको पानी पनि उपयोग गरिनसक्नु भएकाले फिल्टर गरेर फेरि उमालेर उपयोग गर्नुपर्ने बाध्यता रहेको छ । 
प्रतिनिधिका प्रतिबद्धतामा के छ ? 
यो गाउँपालिका चानचुने नेताले नेतृत्व गरेको ठाउँ होइन । तत्कालीन संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका तत्कालीन संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुँदै आएको इलामको क्षेत्र नं. २ हो । तर, पनि अपेक्षाकृत विकास नभएको स्थानीयले गुनासो गरिरहेका छन् । यसपटक पनि यही क्षेत्रबाट नेम्वाङ निर्वाचित भएका छन् । अपेक्षाकृत विकास हुन नसके पनि विगतभन्दा धेरै कुरामा परिवर्तन आएको उनको तर्क छ । वर्षौंदेखिको अव्यवस्थित बसोवासको समस्या समस्या समाधान गरेको, झापा जोड्ने स्थानमा पक्की पुल निर्माण सुरु भएको, विद्युतीकरणलाई थप व्यवस्थित पारिएको र कालोपत्रे सडक निर्माणसमेत थालिसकिएको उनको भनाइ छ ।
विगतमा राष्ट्रिय राजनीतिमा बढी केन्द्रित हुँदा हुँदै पनि केही महत्वपूर्ण कार्य गर्न सकिएको भन्दै नेम्वाङले यसपटक विगतभन्दा बढी ध्यान विकास निर्माणमा दिने प्रतिबद्धता जनाएका छन् । यस्तै, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईसमेत चुलाचुलीले अपेक्षाकृत विकासको फड्को मार्न नसकेको स्विकार्छन् । तर, गाउँपालिकाले यसलाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गरी स्थानीयको आयआर्जनको स्तर उकास्ने योजना बताएको बताउँछन् । इलाम सदरमुकामसँग जोडिने सडकहरु निर्माणाधीन रहेको र झापा जोड्ने पुलसमेत निर्माण भई रहेकाले यहाँका बासिन्दालाई ठूला बजारसम्म पहुँच स्थापित गर्न सजिलो हुने बताउँछन् । बजारीकरणका लागि बाटो खुलेपछि किसानलाई व्यवसायिक कृषि र पशुपालनमा आकर्षित गराउन कार्यक्रमहरु पनि तय गरिएको उनले बताए । थाहाखबरबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता