कुनै फिलिमको कथा भन्दा कम छैन, इलाममा वेवारिसे फेला परेको तीन थान पेस्तोलको कहानी

  • राजेश पराजुली

इलाम, ३ पुसः गत मंसिर २८ गते इलामबाट प्रकाशन हुने सबै दैनिक पत्रिककाहरुमा एउटा सनसनीपुर्ण समाचार प्रकाशन भएको थियो– सदरमुकामस्थित तिल्केनीमा वेवारिसे अवस्थामा तीन थान पेस्तोल र आठ राउण्ड गोली फेला । धेरैले उक्त पेस्तोल निर्वाचनको क्रममा इलाम भित्रिएको आशंका गरेका थियो । तर उक्त वेवारिसे पेस्तोल न त चुनावको क्रममा भित्रिएको थियो न त वेवारिसे नैं थियो । सो पेस्तोल नक्कली बल्ने ढुंङ्गा (स्टोन) बिक्री गर्ने गिरोहले चलाएको नाटकको अंश मात्र रहेको थियो । ति गिरोहले नक्कली बल्ने ढुङ्गा खरिदकर्ताबाट प्राप्त रकम र सो ढुंङ्गा लुटिएको बाहना गरी पैसा हत्याउने योजना मात्र रहेको खुल्न आएको छ ।
गत मंसिर २५ गते राती जिल्ला प्रहरी कार्यालय इलाममा इलाम न.पा वडा नं. ८ मा केही व्यक्तिहरुले निजी सवारी साधनमा सवार व्यक्ति लुटिएको खबर प्राप्त भयो । सोही राती घटनामा लुटिएका व्यक्तिहरुले प्रहरी कार्यालयमा आफुहरु लुटिएको भनी उजुरी गरे । तर सोधपुछको क्रममा घट्ना रहस्यमय लागेपछि प्रहरीले गहन रुपमा यसको अनुसन्धान गर्न लाग्यो । पहिला पहिला सवारी साधन लुटिने गरेको घटना मेची राजमार्गका जंगल भएका र सुनसान इलाका मात्र हुने गरेको थियो । तर यो घटना मेची राजमार्ग छाडेर इलाम बजार नजिकै तिल्केनीको गाउँमा भएको थियो । ‘यसले गर्दा सो घटना सुनियोजित रुपमा भएको र भोली पल्टै त्यस ठाउँमा सर्च गर्दा तीन थान पेस्तोल र गोली भेटिनुले झन आशंका बढायो र आखिर लुटपाटको घटनाको पर्दाफास भयो ।’ आइतबार जिल्ला प्रहरी कार्यालय इलाममा पत्रकार सम्मेलन गर्दै इलाम प्रहरी प्रमुख एसएसपी विपिनकुमार कर्माचार्यले बताए ।
पाँचथर फाल्गुनन्द गाउँपालिका बस्ने राजबहादुर तामाङ, रुद्र नेम्बाङ, योगेन्द्र आङदाम्बे, भयप्रसाद वि.क. र महेन्द्र दर्जीले आफुसँग बहुमुल्य पर्ने ढुङ्गा स्टोन छ र यसको बिक्री करोडौं रुपैंयाँमा हुन्छ र यसमा चार करोड रुपैंयाँ लगानी गरी आफ्नो बनाई अन्य आम्दानीबाट मोटो फाईदा हुने विश्वास दिलाएर सोही गाउँपालिकाका राजेन्द्र रिजाल, फिदिम नगरपालिकाका तारा भट्टराई, डिल्ली ढुंगानालाई विश्वासमा पारे । गिरोहले उनीहरुबाट दुई करोड सन्ताउन्न लाख रुपैंयाँ र साठ्ठी लाख मुल्य पर्ने जग्गा समेत हात पारेको पिडितहरुले दिएको जाहेरीमा उल्लेख छ । घटना अनुसार भनिएको बहुमुल्य ढुङ्गा लिनको लागि लगानी गर्ने भनिएका व्यक्तिहरुलाई इलामको तिल्केनीमा बोलाउने र उनीहरुकै सामुनेमा पुर्व तयारी स्वरुप गिरोहले राखेको व्यक्तिहरुबाट आफुहरु लुटिने नाटक मञ्चन भएको थियो । 
घटनाका योजनाकार राजबहादुर तामाङले पाँचथरबाट बल्ने ढुङ्गा लगानीकर्ता तारा भट्टराई र डिल्ली ढुंगानालाई सो ढुङ्गा लिनको लागि इलामको तिल्केनीमा बोलाए । पुर्व तयारी अनुसार गिरोहका अन्य सदस्य रुद्र नेम्बाङ, योगेन्द्र आङदाम्बे, भयप्रसाद वि.क. र मेहन्द्र दर्जीले उनीहरुलाई बिब्ल्याँटेबाट गाडीमा हालेर तिल्केनी पु¥याए । त्यहाँबाट योजनाकार तामाङ समेत गाडीमा चढेर सामान लिन तिल्केनी भन्दा केही तल कच्ची बाटो तर्फ लागे । केही तल पुगेपछि तामाङले बल्ने ढुङ्गाका लगानीकर्ता र आफ्ना साथीहरुलाई गाडीमा नैं छाडेर म सामान लिएर आउँछु भनी निस्के । 
करिब आधा घण्टापछि तामाङ झोलामा सामान ल्याएको भन्दै चढे र त्यहाँबाट फर्किए । फर्किने क्रममा पुर्वतयारी अनुरुप गिरोहले तयार गरेको पाँच जना केटाहरुले बाटोमा ढुङ्गा राखेर गाडी रोकी हतियार (पेस्तोल) देखाएर लगानीकर्ताद्धयको मोबाईल, सुनको औंठी नगद आठ हजार तथा गिरोहका सदस्यहरुको झोलाहरु समेत लुटेर लगे । त्यसपछि गिरोहका सदस्यहरुले नैं पुलिसलाई नैं आफु लुटिएको खबर गरेका थिए । तर अनुसन्धानले उनीहरुले लटिएको नाटक गरेको खुल्न आएको थियो । प्रहरीले अनुसन्धानको क्रममा तीन थान पेस्तोल र सोको गोली आठ थान तथा योजनाकार तामाङको झापा मेचीनगरस्थित बहिनीज्वाईंको घरबाट नब्बे लाख दश हजार रुपैंयाँ बरामद गरेको छ ।
 घटनामा संलग्न पाँचै जनालाई पक्राउ गरी ठगी, खरखजना, लुटपाट र सार्वजनिक मुद्दा चलाउने तयारी गरेको बताएको छ । साथै प्रहरीले ठगिबाट जोगिन अनावश्यक प्रलोभनमा नफस्न, अपरिचित व्यक्तिलाई तुरुन्त विश्वास नगर्न, चाँडै धनी हुने सपना नदेख्न, आफ्नै मेहनत तथा परिश्रमबाट जीवन जिउने र ठगिबाट जोगिन समेत सचेत हुन अनुरोध समेत गरेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता