इलाम, ३ पुसः पर्यटकीय गन्तव्य बोकेको इलामको उत्तरी क्षेत्रमा अवस्थित माइजोगमाई गाँउपालिका भौगोलिक कठिनाईका कारण पछि परेपनि प्रशस्त सम्भावना बोकेको क्षेत्रका रुपमा परिचित छ । यस क्षेत्रमा उत्तरेपोखरी, बालागुरु शिवालयधाम, सांगा छ्योलिङ गुम्बा, सूर्योदयको दृश्यावलोकन गर्न सकिने थुम्केडाँडा लगायतका विविध पर्यटकीय स्थल रहेका छन् ।
माईजोगमाई गाँउपालिकाको केन्द्र समेत रहेको नयाँबजार जिल्लाको परिचित व्यापारिक केन्द्र समेत रहेको छ । भारतसँग सीमाना जोडिएका जौबारी, गोर्खे, पशुपतिनगर लगायतका व्यापारीहरु आउने गरेका छन् ।
वि.सं १९४० मा स्थापना भई २५ रोपनी क्षेत्रफलमा फैलिएको माईजोगमाई एकमा अवस्थित सांगा छ्योलिङ गुम्बा पुरानो धार्मिक स्थल भएपनि वि।सं २०७२ सालको भूकम्पले क्षति गरेको थियो । भूकम्पले क्षति गरेपनि सरोकारवाला निकायको ध्यानाकर्षण नभएको सोही गुम्बाका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो ।
आन्तरिक तथा वाह्य पर्यटकहरु आउने भएकाले यस क्षेत्रको स्तर उन्नति हुनेमा सबैको ध्यानाकर्षण हुनुपर्ने पनि अध्यक्ष शेर्पाको भनाई छ । यसअघि कुनै निकायबाट सहयोग नभए पनि स्थानीय तह बनेपश्चात माईजोगमाई गाउँपालिकाबाट सात लाख बजेट छुट्याएपछि गुम्बाको मर्मत गरिन थालेको छ ।
यो गुम्वामा अहिले वौद्ध शिक्षालय पनि रहेको र यस शिक्षालयमा ३१ जना वौद्ध भिक्षुहरु रहेको विद्यालयका शिक्षक उदय राईले जानकारी दिनुभयो ।
गुम्वा भन्दा किलोमिटर दुरीमा रहेको अर्को रमणीय पर्यटकीय स्थल उत्तरे पोखरी रहेको छ । यो पोखरी परापूर्वकाल देखि सफा र स्वच्छ छ । पोखरीको वरिपरी बोटविरुवा भए पनि पोखरीमा कहिले पनि पात पतिङगर नदेखिने र सधै साफा हुने गरेकाले पनि यस पोखरीको महत्व छुट्टै रहेको स्थानीय देवी अधिकारीको भनाई छ ।
इलामको सूर्योदय नगरपालिकाबाट माईजोगमाई गाँउपालिका हुुदैँ सन्दकपुर गाउँपालिकाबाट इलाम सदरमुकामसम्म जोड्ने रिङरोड बनाउने र यस क्षेत्रलाई व्यापारिक पर्यटकीय स्थलको रुपमा विकसित गर्न सके नयाँबजारले धेरै सम्भावना उजागर गर्नेछ ।