दहाल दम्पतीद्वारा बृद्धबृद्धाको उपचार गर्न २ लाखको अक्षय कोष

इलाम, ४ पुसः माइभगवती बृद्धाश्रममा आश्रित बृद्धबृद्धाको औषधोउचारलाई सहयोग गर्ने हेतुले ट्रष्ट स्थापना गरिएको छ । विगतका दिनमा इलाम बसेर सेवारत डाक्टरद्वय हिमाल दहाल र आशा कार्कीले आफ्नो आमा चेतकुमारी दहालको स्मृतिमा चेतकुमारी दहाल मेमोरियल ट्रष्टको स्थापना गरेका हुन् । बृद्धआश्रमको मातहतमा रहनेगरि उनीहरुले ट्रष्ट स्थापना गरेका हुन् । आशा कार्कीको संयोजकत्वमा ट्रष्ट सञ्चालनको लागि सञ्चालन समिति समेत गठन भएको छ । संरक्षक संस्था महिला जागरण संघ इलाममा आयोजित कार्यक्रममा उपस्थित भएर डाक्टरद्वय दहाल र कार्कीले बृद्धआश्रमका कोषाध्यक्ष कोमलकुमार निरौलालाई ट्रष्टमा कोष जम्मा गर्न २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । 
सो संगै डाक्टर दम्पतीले यस बर्ष बृद्धबृद्धाको लागि नगद ५ हजार समेत निरौलालााई हस्तान्तरण गरे । दाताहरुको इच्छा बमोजिमनै सो रकम मुद्दति खातामा राखी प्राप्त ब्याजले आश्रममा आश्रित बृद्धबृद्धाको उपचारको लागि रकम खर्च गरिने निरौलाले बताए । आगामी फागुन महिनामा आश्रममा निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्न आफुहरु उपस्थित हुने डाक्टर दम्पतीले प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा स्थानीय सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो । डाक्टर दहाल इलामको डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा कार्यरत थिए भने डाक्टर आशा कार्की परिवार नियोजन संघ इलाममा कार्यरत थिईन् । डाक्टर दम्पतीले ग्रीन भ्याली एकेडेमी स्कुलमा पनि आफ्नो छोरी आर्या दहालको स्मृतिमा विगत ५ बर्षदेखि यस्तै कोष स्थापना गरि एलकेजीमा प्रथम हुने छात्रछात्रालाई पुरस्कृत गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता