इलाम, १ पुस : नेकपा एमालेका नेता तथा सांसद सुवास नेम्वाङले इलामको सोयाक हुँदै चुलाचुली जानका लागि द्रुतमार्ग निर्माण गरिने बताउनुभएको छ ।
माई नगरपालिका–७ कपरसुक्कामा आज आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासको दृष्टिकोणले पछाडि परेको यहाँ इलामको सोयाक–महमाई हुँदै चुलाचुली पुग्ने दु्रतमार्ग निर्माण आफ्नो पहिलो एजेण्डा हुने बताउनुभयो ।
महमाई र दानाबारीबीचमा पर्ने माईखोलामा पर्ने चण्डालघाटमा निर्माणाधीन पुल छिटो सम्पन्न गर्न उहाँले आग्रहसमेत गर्नुभयो । “यो पुल बनेपछि महमाईको कायापलट हुनेछ, महमाई शहर केन्द्रित हुन्छ”, उहाँले भन्नुभयो, “यहाँबाट महमाई, बाँझो, सोयाक, जितपुर आउजाउ गर्न सहज हुनेछ ।”
महमाई क्षेत्रको अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या समाधान गर्न पहल र प्रयत्न गर्ने बताउँदै उहाँले वाम गठबन्धनको सरकार गठन भएपछि विकास र समृद्धितर्फ मुलुक अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले अब मुलुकलाई आर्थिक समृद्धि र विकासको पथतिर लैजाने बताउँदै पाँच वर्षभित्रमा जनताले अनुभूत गर्नेखालका ठोस योजना लागू गरिने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सांसद धीरेन्द्र शर्माले जिल्लाको दक्षिणी क्षेत्र विकासमा पछि परेकाले अब आफ्नो पहिलो काम विकास नै हुने बताउनुभयो ।
अर्का प्रदेश सांसद राम रानाले बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न र विदेश पलायन रोक्नका लागि दक्ष जनशक्ति तयार गर्न प्राविधिक शिक्षालय स्थापना गरिने तथा कलकारखानाको स्थापना गरी स्वदेशमै रोजगारीको ग्यारेन्टी गरिने बताउनुभयो ।