- टीका खतिवडा
इलाम २ पुसः भारतसँग पूर्वी पहाडको मुख्य नाका इलामको पशुपतिनगरमा अध्यागमन केन्द्र (नेपालका लागि पर्यटक अनुमति पत्र) नहुँदा बाह्य पर्यटकलाई समस्या भएको छ । सो नाकाबाट प्रवेश गर्ने भारतीय बाहेक अन्य पर्यटकहरुले लिनु पर्ने अध्यागमन अनुमति पत्र त्यहाँबाट प्रदान नगरिँदा समस्या भएको हो ।
सो नाका हुँदै बंगलादेश लगायत अन्य देशबाट नेपाल भित्रिने पर्यटकहरुलाई अनुमति लिनका लागि झापाको काँकडभित्ता नै पुग्नु पर्ने बाध्यता छ । इलाममा अझ बढी पर्यटक भित्रिने भएपनि काँकडभित्ता पुग्नु पर्ने बाध्यताका कारण पशुपतिनगरबाट नेपालका पूर्वी क्षेत्र आउने सबै पर्यटक इलाम नआउने गरेका छन् । पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा नेपाली तथा भारतीय पर्यटन ब्यवसायीलाई नै समस्या भएको उनीहरु बताउँछन् ।
इलाम पर्यटकिय जिल्ला हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटक गरी धेरै पर्यटकहरु आउने गर्दछन् । तर भारतको सिलिगुडी, दार्जिलिङ लगायतबाट पशुपतिनगर हुँदै इलामको पूर्वी क्षेत्र भित्रिने पर्यटकहरुले सानो कामका लागि पनि झापाको काँकडभित्ता नै जानु पर्ने बाध्यता छ । कति पर्यटकहरु त समस्या बुझेपछि पशुपतिनगरबाट इलाम नै नछिरी त्यहाँबाट नै फिर्ने गरेको सिलिगुडीका पर्यटन ब्यवसायीहरु वताउँछन् । इलामका नेताहरुले पशुपतिनगरमा अध्यागमन केन्द्र स्थापना गर्ने भनेर कति पटक भाषण गरे, कति चुनावी कार्यक्रममा भोट फकाउन समेत प्रयोग गरे । पुरानै नारा भए पनि हालसम्म सो समस्या सम्वोधन हुने गरि नयाँ अध्यागमन केन्द्र स्थापना भएको छैन । पशुपतिनगरमा उक्त केन्द्र स्थापना हुन नसक्दा पर्यटन ब्यवसायी र समग्र जिल्लाकै लागि घाटा हुने गरेको छ ।
धेरै पहिलाबाट इलामका राजनैतिक दलहरुले मुख्य एजेण्डाकै रुपमा अघि सारेको सो अध्यागमन केन्द्र सञ्चालन गर्न सके धेरै सहज हुने पशुपतिनगरका स्थानियबासी समेत बताउँछन् । भर्खरै मात्र सिलिगुडीबाट बंगाली पर्यटक लिएर नेपाल आएका पर्यटन ब्यवसायी बिनोद गुप्ताले चाँडै यो समस्या समाधान नभए आफुहरु र इलामका पर्यटन व्यवसायीहरुलाई समेत घाटा हुने बताए । ‘हेल्फ टुरिजम’ सिलिगुडीका गुप्ताले भने– ‘पशुपतिनगरमा इमिइग्रेसन अफिस भए हामीलाई पनि विदेशी पर्यटक लिएर नेपाल आउन सजिलो हुने थियो जस्तो लागेको छ ।’ भारततर्फको फाटकमा भारतीय पक्षबाट सो कार्यालय स्थापना गर्न पहल गरे पनि नेपालको पशुपतिनगर तर्फ नेपाल सरकारले कुनै प्रक्रिया अघि नबढाएको बताइएको छ । बंगालकी एक महिला पर्यटकले नेपालको पूर्व मेचीका चारै जिल्ला भ्रमण गरिसकेको बताउँदै इलाममा जस्तो सुन्दर दृष्य नेपालकै अन्य स्थानमा त के भारतमा समेत नभएको बताइन् । उनले झापाको काँकडभित्ताबाट इलाम–पाँचथर हुँदै ताप्लेजुङ सम्म पुगेको तर इलाममा भएका प्राकृतिक पर्यटकिय दृष्यहरु अन्य स्थानमा नभएको बताइन् ।
पशुपतिनगरबाट पर्यटक आवागमन गर्ने अनुमति प्राप्त हुन सके जिल्लामा पर्यटकको ओइरो लाग्ने होटल एशोसिएशन इलामका अध्यक्ष देवी पौडेल बताउँछन् । उनले भने ‘हामीले धेरै पटक यो कुरा नेपाल सरकार समक्ष पु¥यायौँ तर कसैले सुनेन् ।’ चाँडो सो स्थानमा अध्यागमन केन्द्र स्थापना गरिनु पर्ने इलामका पर्यटन ब्यवसायीहरु बताउँछन् ।
मेचीका चार सहित तेह्थुम, धनकुटा लगायतका जिल्लाहरुमा पर्यटक घुमाउनका लागि नयाँ संस्था खोलेर अघि वढ्न लागेको एशोसिएसनका अध्यक्ष तथा पर्यटन ब्यवसायी पौडेलले बताए । ‘पहाडकी रानी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका पौडेलले वेष्ट बंगालका पर्यटक नेपाल भित्रियाउन आफुहरुले ‘चलो इलाम’ लगायत विविध कार्यक्रम गर्दै आएको बताए । सो कार्यक्रमबाट समेत पर्यटक बढेको उनको भनाई छ ।