- मनिषा चम्लागाईँ

झापा, २९ मंसिरः कानुनले नेटवर्किङ व्यवसायलाई गैरकानुनी ठहर गरे पनि त्यो लुकिछिपी बाटोबाट लहरा झैँ फैलिदै गएको छ । संसदमा कानुन बनाउने र त्यसलाई व्यवस्थित गर्ने प्रकृया चलिरहेका बेला विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधिहरु मुलुकमा छिरेर सक्रिय रहुनुले नेटवर्किङ व्यवसाय निरन्तर चलिरहेको देखाउँछ । यो नियमनकारी निकायले पनि थाहा नपाएको होइन तर ऊ कानमा तेल हालेर बसेको छ । परिणम सर्वसाधरण ठगिने क्रम झाँगिदो छ ।
पछिल्लो समयमा जटिल प्रकृतिका रोग निको पार्ने भन्दै पूर्वका जिल्लामा ओरियन्स नामक संस्थाले नेटवर्किङ् धन्दा चलाईरहेको छ । ओरियन्स भारतको चेन्नईमा दर्ता रहेको सो नेटवर्किङ्मा सक्रियहरु नै बताउँछन् । ओरियन्सले एलोपेथिक चिकित्सा पद्धतिलाई चुनैति दिदैँ व्यवसाय दिन दुईगुना रात चौगुनाले बढाईरहेको छ । ओरियन्समा सक्रियरहेकाहरुले हस्पिटलले समेत निको पार्न नसकेका रोग निको पार्ने भन्दै सर्वसाधारणलाई उत्पादन बिक्री गरेर मोटो रकम लिने गरेको ओरियन्सका उत्पादन प्रयोगकर्ताहरु बताउँछन् । नेपालमा दर्ता नभएको ओरियन्स नामक संस्थाले नेटवर्किङ शैलीबाट ‘फ्रुट सप्लिमेन्ट’ बिक्री गर्दै आएको छ । रोग निको पार्ने भनेर बिक्रि गरिएका उत्पादनलाई व्यवसायमा लागेकाहरु औषधी भन्न तयार छैन्न । भारतको चेन्नईमा कार्यालय रहेको भनिएको ओरियन्सले आफ्नो उत्पादन नेपालका कुना काप्चा सम्म बिक्री गर्दै आएको छ । आफुले सदस्य विस्तार गरे वापत वोनस प्राप्त गर्ने सकिने भन्दै नागरिकसँग ओरियन्सले लाखौंको कारोबार गर्दै आएको छ । यस्तो कार्य पुर्वका जिल्लाहरुमा फष्टाएको छ ।
आयुर्वेदीक भएकाले सोचे जस्तो छिटो रोग निको हुदैँन तर निरन्तर यसको प्रयोग गरे धेरै रोग निवारण गर्न सकिने व्यवसायमा सक्रियहरुको भनाई छ । तर उनीहरुको भनाई सत्यतामा भन्दा पनि रकम असुलिमा केन्दि«त रहेको छ । किनकी ओरियन्सको उत्पादन प्रयोग गरेर आफु निको भएको बताउने एक जना पनि नरहेकोे स्वयम सेवन कर्ताहरु बताउँछन् ।
‘फुड सप्लिमेन्ट’ भएको कारण यो औषधी नभएको नेटवर्किङमा संलग्न व्यक्तिले बताए । झापा मेचिनगर नगरपालिकाका सुरज सुवेदीले पनि यो ओरियन्सको उत्पादन प्रयोग गरेको सुनाए । उनले भने सात दिन प्रयोग गरेपछि केही सुधार आउँछ भनिएको थियो, मैले ४५ दिन सम्म प्रयोग गरे तर मैले सुधारको कुनै संकेत छैन । उनी पायल्सका रोगी हुन् । ुउनले खिन्न हुँदै भने, अन्त्यमा अस्पताल नै जानु पर्यो ।ु रोग पूर्ण रुपमा निको हुन्छ भन्ने आशवासन पाएर प्रयोग गर्न थालेको उनले बताए ।
लाखौँ खर्च हुने तर जटिल प्रकृतिका रोग निको नभएका मानिसहरुले बढि मात्रमा ओरियन्सका उत्पादन प्रयोग गर्ने गरेको बताईन्छ तर यसमा सत्यता छ कि छैन त्यसको एकिन गर्ने दायित्व नियमनकारी निकायको हो ।
ओरियन्सका उत्पादनमा कुनै पनि प्रकारको रसायन मिसावट नहुने कारणले गर्दा यसलाई औषधी भन्न नमिल्ने व्यवसायमा लागेकाहरु बताउँछन् । असोज ४ गते संसदमा नेटवर्किङ व्यवसायबारे कानुन बनाउने निर्णंय पारित भएको र नयाँ सरकार गठन भए सँगै कम्पनी दर्ता हुने दाबी पनि उनिहरुको छ , तर त्यसमा सरकारको औपचारिक धारण अहिले सम्म बाहिर आएको छैन ।
५ वर्ष भित्र समृद्ध नेपाल बन्ने र सबैले ओरीयन्सकै उत्पादन प्रयोग गर्ने दावी समेत प्रचारकहरु गर्दछन् । यो ‘फुड सप्लिमेन्ट’ नेपालीका लागी महङ्गो भएको नाम नलेख्ने सर्तमा एक प्रचारकले बताए ।
सुनसरीबाट यसको अभियानमा लागेका सुमन थापाले तिन महिना देखि ६ महिना सम्म यसको प्रयोग गरे जटिल रोग समेत निको हुने दाबि गरे ।
झापाको पनि विभिन्न ठाँउमा यसको प्रचार गरिरहेको पाइन्छ । झापाका प्रमुख जिल्ला अधिकारी ऋषि राम तिवारीले यस बारे आफुलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । उनले जिल्लामा त्यस प्रकारको संस्था रहे नरहेका विषयमा अनविज्ञाता प्रकट गरे । ुमलाई यो विषय थाहा छैनु यस विषयमा प्रहरी प्रशाशन सँग बुझनुहोस । यस विषयमा झापाका प्रहरी प्रमुख विष्णु केसी सँग बुझदा आफुमाझ कुनै उजुरी नआएको बताए ।
आफुले सदस्य बनाएको व्यक्तिले सदस्य बिस्तार गरे उसले बोनस पाउने एक प्रचारकले बताए । आफुले गरेको काम हेरी नाफा प्राप्त हुने तेह्रथुमका एक प्रचारक बताउँछन् ।
दिनानु दिन यसको अभियानमा लाग्नेको संख्या बढेकाले यसबाट प्रभावित हुनेको संख्या पनि बढ्दै गएको छ । यसले गर्दा धेरै मानिस रोग निको हुने आशमा हजारौँ रुपैयाँ खर्च गर्न लागी परेका छन् । ओरियन्सको गतिविधि र प्रक्रिया हेर्दा विगतको युनिटि नेटवर्कीङ् जस्तै छ । ओरियन्समा लागेकाहरुले नाम सार्वजनीक गर्न नचाहनुले पनि यो व्यवसाय गैरकानुनि छ भन्ने संकेत गर्छ । सर्वसाधरण कसैको भनाइमा फकिनु र हजारौं रुपैयाँ उनीहरुले ओरियन्सका उत्पादनमा खर्चदा नेपाली रुपैयाँ भारत जाने क्रम बढेको छ ।