
इलाम, ७ पुसः बढ्दो आधुनिकिरणसँगै नयाँ पुस्ताले पुराना कुरा, सामान र सामाग्री बिर्सँदै गएका छन् । लोप हुन लागेका पुराना वस्तु तथा पुराना संस्कृति जगेर्ना र नयाँ पुस्तालाई ज्ञान दिलाउने उद्देश्यले इलाम सदरमुकाममा सञ्चालित जुविलेन्ट इलाइट एकाडेमीले आगामी पुष ८ र ९ गते विविध कार्यक्रम गर्ने भएको छ । विद्यालयको वार्षिक उत्सवको अवसरमा पुराना वस्तुको प्रदर्शनी सहित संस्कृति जोगाउन सहयोग पुग्ने गरी कार्यक्रम तय भएको बिहीबार पत्रकार सम्मेलन गर्दै प्रिन्सिपल भुषान्त सुब्बाले जानकारी दिए ।
प्रदर्शनीमा पुराना तराई र पहाडमा निर्माण हुने घर, हिमाल, पहाड र तराईमा प्रयोग हुने विभिन्न सामाग्री सहित लोक नृत्य, संगीनी लगायका कार्यक्रम गरिने प्रिन्सिपल सुब्बाले जानकारी दिए ।
विद्यालयमा गठन भएको ‘सोसियल्ली युजफुल प्रोडुयुक्टीभ वर्क’ नामक क्लबले सो कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । वि.स २०६५ सालमा स्थापना भएको यस विद्यालयमा स्थापनाकालदेखि नै वर्षेनी विविध कार्यक्रम गर्दै आएको बताइएको छ । कार्यक्रमले संस्कृतिको संरक्षण, संम्बद्र्धन र पर्यटन प्रवर्धनमा मद्दत पु¥याउने आशा लिइएको छ । विद्यार्थीले वर्षभरी गरेका विषयगत प्रयोगात्मक वस्तुको प्रर्दशन गरिने समेत बताइएको छ ।
विद्यालयका प्रिन्सिपल भुषान्त सुब्बाका अनुसार विद्यालयमा पढाइने विषयहरुलाई सैद्धान्तिक तरिकाले अध्ययन गराउँदा भन्दा प्रयोगात्मक तरिकाले अध्ययन गराउँदा विद्यार्थीमा छिटो जान्ने भएकाले प्रयोगात्मक वस्तुको निर्माण गरिएको हो । विद्यालयले गत वर्ष नाकाबन्दीले पारेको प्रभावका विषयमा केन्द्रित कार्यक्रम गरेको थियो ।