इलाम, ३ पुसः इलाम नगरपालिका १ साँखेजुङ्गमा रहेको नेपालटार माविमा अक्षय कोष स्थापना गरिएकोे छ । साँखेजुङ्गमा जन्म भई अहिले इलाम नगरपालिका ९ मा बसोबास गर्दै आएका यामबहादुर (कमल) गुरुङले सोमबार एकलाख रुपैंयाँको ‘मनि–मनमाया अक्षय कोष’ स्थापना गरिदिएका हुन ।
गुरुङले आफना स्वर्गीय हजुरबुवा मनिराज गुरुङ्ग र हजुरआमा मनमाया गुरुङ्गको नाममा अक्षय कोष स्थापना गरेका हुन । बेलायत ब्रिटीस सेनामा कार्यरत गुरुङ्गले विद्यालयको भौतिक संरचना निर्माणका लागि २५ हजार रुपैंयाँ पनि सहयोग गरेको उनका भाई बिमल गुरुङ्गले जानकारी दिए । विद्यालयमा विद्यालयमा स्थापना भएको अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट आएको रकमले हरेक वर्ष विद्यालयको उत्कृष्ठ एक र गरीब–जेहेनदार दुईजना विद्यार्थीलाई पुरस्कृत गरीनेछ ।
यसैगरी गुरुङ्गले इलाम नगरपालिका १० गोदक माइभगवती बृद्धाश्रमलाई पनि सहयोग गरेका छन् । बाबु जगन्नाथ र आमा सन्तमाया गुरुङ्गको जेष्ठ सुपुत्र यामबहादुर गुरुङ्गले बिदाको समयमा घर आएको बेला इलाम नगरपालिका १० गोदक माइभगवती बृद्धाश्रमलाई पनि सहयोग गरेकाहुन । उनले आश्रममा बृद्धबृद्धालाई जाडोमा ओड्ने लत्ताकपडा तथा जुत्ताचप्पल, खाद्यय समाग्रीहरु उपलब्ध गराएका छन् । ब्रिटीस सेनामा कार्यरत गुरुङ्गले गत जेठ २ गते विश्वकै सर्वोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरेर इलाम अनि सिंगो नेपालको नाम राख्न सफल भइसकेका छन् ।