अन्तुसँग साइनो गाँस्दै पर्यटक, ‘गुन्द्रुकको अचार र लोकल कुखुरा’ को मासुको स्वादमा रमाउँदै

पुष १९, इलामः भुटेको मकैसँगै गाउँमा उत्पादन भएको साग, मोही, गोलभेंडा अनि गुन्द्रुकको अचार र लोकल कुखुराको मासु । गाउँमा पुग्ने पाहुनालाई स्थानीयले गर्ने सम्मान र सत्कार । साविकको श्रीअन्तु गाविस हाल सूर्योदय नगरपालिकाभित्रै भएपनि यहाँ गाउँको वातावरण नै छ । बजार क्षेत्रको कोलाहलबाट केही घण्टाको दुरीमा रहेको पूर्वी इलामकै पर्यटकिय गाउँ श्रीअन्तुमा त्यहाँको होमस्टेले पर्यटकलाई लोभ्याउने गरेको छ । गाउँको रमणीय दृष्यका साथै सूर्योदयको दृष्यावलोकन, नेपाल, भारतका बिभिन्न देशका हिमश्रृङखला अनि भारतका सुन्दर सहरहरुको दृष्यावलोकन, पारिवारिक वातावरण, स्थानीय परिकार, डुङ्गामा चढेर अन्तु पोखरीको शयर र संस्कृतिले आन्तरिक मात्र नभई, विदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्ने गरेको छ ।  
विदेशी पर्यटकको समेत गन्तव्य बनेको श्रीअन्तुमा स्थापित भएका होमस्टे चम्किदैं गएको हो । पर्यटक आवागमनकै सिजन भएकाले पनि  अहिले श्रीअन्तुमा आन्तरिक तथा बाह्य पर्यटकको चाप अत्यधिक हुँदै गएको छ । जसले गर्दा हिजोआज त्यहाँ रहेका दुई दर्जन बढि होमस्टेले आम्दानीमा पनि फड्को मार्दै गएको छ । बिगत केहिबर्ष यता उक्त गाउँमा होमस्टे सञ्चालन प्रभावकारी ढंगबाट चल्दै आएको छ । जसबाट त्यहाँका मानिसहरुको आम्दानीको श्रोत निकै बलियो बनेको छ । नेपाल–भारत सिमा क्षेत्रमा पर्ने श्रीअन्तुमा बिशेष गरेर भारत पश्चिम बंगालका पर्यटकहरु बढि मात्रामा आउने गरेको स्थानीय टिका खनालले बताउनुभयो । होमस्टे सञ्चालनमा आएपछि स्थानीय महिलाहरु स्वरोजगार समेत बनेका छन् । भारत दार्जिलिङ्गको जीवनशैलिमा सिंगारीका त्यहाँका घर अनि घर वरिपरी रंगीबिरङ्गी फूलहरुको सुगन्धको आवास त्यहाँ पुग्ने आन्तरीक तथा बाह्य पर्यटकले गर्दछन् । 
चिसो मौसम, चियाबारी भित्रको मनोरम गाउँ र रमणीय वातावरण समेत भएकाले पनि अन्तुमा पर्यटक आवागमन बर्षेनि बढ्दो क्रममा रहेको अन्तुमै लामो समयदेखि होमस्टे चलाएर बसिरहनु भएका तथा जिल्लाकै पर्यटन बिकासका निम्ति महत्वपूर्ण योगदान पुरयाउँदै आउनु भएका धनकुमार आलेले बताउनुभयो । होमस्टेमा स्थानीय उत्पादनबाट बनेका परिकार खान पाइन्छ । लोपन्मुख लाप्चा जातिको बसोबासका साथै लाप्चा संस्कृतिको दृष्यावलोकन र अन्य स्थानीय कला तथा संस्कृतिमा रमाउनका लागि पनि अन्तुमा पर्यटकहरु पुग्ने गरेका हुन् । होमस्टेले गाउँमा रोजगारी दिलाएको छ, बाहिरबाट आउने पाहुनाका कारण कारोबार बढ्ने गरेको आलेको भनाई छ । फिक्कल छिपिटारबाट करिब एक÷डेढ घण्टामा अन्तु पुग्न सकिन्छ । सो ठाउँमा सूर्योदय तथा हिमालहरुको दृष्यावलोकनका लागि ब्यबस्थित भ्यूटावारका साथै बगैंचा निर्माण भइसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता