
इलाम, १९ पुसः इलाममा छ वर्षमा ५६ हजार भन्दा बढिले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार २०६८ सालदेखि हालसम्म ५६ हजार ९७४ जनाले राहदानी बनाएका हुन् । राहदानी बनाउने मध्ये ३६ हजार ६३५ जनाले सामान्य तरिकाले राहदानी बनाएका छन् भने २० हजार ३३९ जनाले द्रुत सेवा (फास्ट ट्रयाक) बाट राहदानी बनाएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए । अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा पाँच हजार ७४ जनाले द्रुत सेवामा (फास्ट ट्रयाक मार्फत) एक हजार ३६० जनाले राहदानी बनाएका छन् ।
चालु आ. व. २०७४÷०७५ को हालसम्ममा राहदानी बनाउनेको संख्या दुई हजार ३३२ जना पुगेको छ । जसमा एक हजार ६२८ जना पुरुष छन् भने ७०४ जना महिला रहेका छन् । जसमध्ये द्रुत सेवाबाट छ सय ४२ जनाले राहदानी बनाएका कार्यालयले जनाएको छ । द्रुत सेवाबाट ६ दिनमा राहदानी बन्ने भएपनि शुल्क भने महङ्गो रहेको छ । द्रुत सेवामा १० हजार शुल्क लिने गरिएको छ । राहादानीबाट गत आ. व. २०७३÷०७४ मा दुई करोड ६३ लाख ५७ हजार पाचँ सय राजस्व संकलन भएको थियो । यस आ. व. २०७४÷०७५ मा भने एक करोड २१ लाख ९५ हजार राजस्व संकलन भएको छ । कामको सिलसिलामा इलामबाट खाडी मुलुक मलेसिया, कतार, दुवई, कोरिया जस्ता देशहरु जाने गरेका छन् । खाडी मुलक मध्ये पनि सबै भन्दा धेरै मलेसिया जाने गर्दछन् ।