आफ्ना श्रीमान निर्दोष रहेको भन्दै उनकी श्रीमती सरिता कुलुङ राई १७ महिनाको छोरो रिसव र सात वर्षकी छोरी रासिकालाई लिएर श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयको ढोका चहारिरहेकी छन्।
केबल तार चोरी गरेको आरोपमा साउदीको सार्वजनिक कानुनअनुसार प्रेमबहादुरले दुई महिना जेल र ५० कोर्रा भुक्तान गरिसकेपछि नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिई पुनः मुद्धा हालेर तीन लाख १० हजार रियाल (करिब ९५ लाख रुपैयाँ नेपाली) जरिवाना तोकेको श्रीमती सरिता कुलुङले बताइन्।
‘श्रीमान साउदीमा दोहोरो सजाय भोग्दै हुनहुन्छ, कम्पनीले हराएको बिगोको नेपाली रुपैयाँ करिब ९५ लाख रुपैयाँ मागेको छ’, सरिताले रुँदै भनिन्, ‘नत्र आजीवन जेल सजाय हुन्छ रे१ यत्रो रकम म कसरी जुटाऊँ।’
सन् २०१२ जुन १२ तारिकका दिन क्राउन इम्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी ९लरी० चालकको रूपमा प्रेमबहादुर साउदी गएका थिए। सन् २०१५ सेप्टेम्बर ४ तारिकका दिन घर आई पुनः २०१६ जनवरी १ तारिकका दिन उनी त्यही कम्पनीमा कामका लागि गएका थिए। गत जुलाई ५ तारिकसम्म प्रहरी हिरासतमा रहेका प्रेमबहादुरलाई त्यसपछि भने साउदी अदालतमा मुद्धा दायर गरेर जेल हालेको कुवेतमा रहेका उनका दाजु चक्रबहादुर राईले बताए।
यसरी भयो घटना
२०१६ मार्च ३१ तारिकका दिन लरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङस्थलमा रोकी साथी भेट्न गएका थिए। गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनदियाबाट १० किलोमिटर टाढा रोमा भन्ने स्थानमा फेलापरेको प्रहरी रिपोर्टमा उल्लेख रहेको चक्रबहादुरले बताए।
कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गर्दै अदालतमा क्षतिपूर्ति दाबी गरेको उनको भनाइ छ।
विदेशका गुड्ने गाडीमा जीपीएस प्रणाली हुने भएकाले कसले र किन चोरेर लग्यो भन्ने जानकारी पाइने भए तापनि कम्पनीले निर्दोष भाइलाई फसाएको दाजु चक्रबहादुरको आरोप छ। भाइलाई र नेपाली दूतावासलाई कुवेतबाट फोन सम्पर्क गर्दागर्दै महिनाको आधा तलब सकिने गरेको चक्रबहादुरले गुनासो गरे। उनले साउदीमा रहेको नेपाली राजदूतावासले समेत आफ्नो भाइको रिहाइका लागि खासै चासो नराखेको बताए।
राईकी श्रीमती सरिताले माथिल्लो अदालतमा वकिल राखेर बहस गर्न नसकिएको बताइन्। ‘श्रीमानले वकिल राख्दा एउटा बहसको आठ हजार रियाल तिर्नुपर्छ भन्नुभएको छ’, उनले भनिन्, ‘सरकारले नै वकिल राखिदिए हुन्थ्यो। मेरो अरू केही आधार छैन।’
इलाममा पुर्ख्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन। उनलाई दैनिक घरखर्च चलाउनै मुस्किल छ। ‘त्यत्रो रकम कहाँबाट ल्याउने अब सरकार र नेपाली दाजुभाइको साथ र सहयोग चाहिएको छ’, उनले भनिन्।
प्रेम बचाऊ अभियान सुरु
प्रेमबहादुरलाई छुटाउन ‘प्रेम बचाऊ अभियान समिति’ले पहल गर्दै आएको छ । ‘एउटा निर्दोष नेपाली अनाहकमा फस्न गयो’, समितिका संयोजक चन्द्रसिंह कुलुङले भने, ‘अरू उपाय नदेखेपछि चन्दा संकलन सुरु गरेका छौँ।’ समितिले नेपाल इन्भेष्टमेन्ट बैंकमा ०२९०५०३०२८५१७९ नम्बरको खाता खोलेर चन्दा संकलन सुरु गरेको हो।
प्रेमबहादुरको गाउँमा समेत उपसमिति बनाएर सहयोग संकलन अभियान सुरु गर्ने तयारी भइरहेको कुलुङले जानकारी दिए।