
रोङ (जिर्मले), २० पुसः नागरिकहरुलाई छिटो छरितो सरल र सहज रुपमा सेवा प्रदान गर्न विकेन्द्रिकरणको रटान लगाउदै आएको भएपनि व्यवहारमा विकेन्द्रिकरण कस्तो छ भन्ने ज्वलन्त उदाहरण बनेको छ नेपाल विद्युत प्रधिकरणको सेवा । पूर्वी इलामको प्रायः सबै गाउँपालिकाको कुनै न कुनै स्थानमा विद्युत बिस्तार र वितरण भएको भएपनि महसुल बुझाउने एकमात्र स्थान सुर्योदय नगरपालिकाको फिक्कल नै रहेकोले पूर्वी तथा दक्षिणी इलामका सबै विद्युतका ग्राहकहरुलाई महसुल बुझाउन अनिवार्य रुपमा फिक्कल नै जानु पर्ने बाध्यता रहेको छ । यता राज्य पुनःसंरचना भएर स्थानिय निकायको गठन भइसकेपछि पनि रोङ गाउँपालिका वडा नं. ६ जिर्मलेका नागरिकहरुले अहिले पनि इरौटारको ठेगानामा विद्युतको महशुल तिरीरहन बाध्य भएका छन् ।
कतिपय निकायमा बिजुली, खानेपानी र टेलिफोनको बिललाई आधिकारिक र प्रामाणिक अभिलेख मानिने भएपनि रोङ ६ का नागरिकको लागि भने यो नियम लागु भएमा अर्को झण्झट बन्ने पक्का रहेको छ । नेपाली नागरिकताको फोटोकपी र जग्गा धनीपूर्जाको प्रतिलिपी बुझाएर लिएको मिटरमा विद्युत प्राधिकरणका कर्मचारीहरुले जानाजान ठेगाना बिगारेको नागरिकहरुको गुनासो रहेको छ । यता पूर्वी इलामको जिर्मलेका ग्राहकले विद्युत प्रधिकरणको न्यूनतम ३० रुपैयाँ महशुल बुझाउन एक दिन माया मारेर यातायात खर्च मात्रै तीनसय तिर्ने गरेका छन् भने इरौटारबाट सोही बराबरको महसुल बुझाउन पाँच सय रुपैंयाँ खर्चनु परिरहेकोले सास्ती बोक्नु परेको छ ।
यता रोङ गाउँपालिकाले यसबारे के गर्दैछ भन्ने बारेमा चियाबारी दैनिकबाट प्रवक्ता मनिकुमार स्याङबो सुवाससँग बुझ्दा नागरिकलाई सजिलो तरिकाले सेवा दिन गाउँपालिकामा बैठक बसी विद्युत प्राधिकरणसँग कुरा भइरहेकोले अब नागरिकहरुले स्थानिय स्तरबाट नै सेवा लिने प्रबन्ध मिलाइने बताए । यसबारेमा विद्युत प्राधिकरण फिक्कल शाखामा बुझदा पहिला आइतबारेमा समेत महशुल बुझ्ने गरिएको भएपनि ग्राहकको विवरण कम्प्युटरमा राखिएपछि पूर्वी इलामको सबै ठाउँको महसुल फिक्क्लबाट नै बुझिने गरेको विद्युत प्रधिकरण श्रोतले बतायो ।