साविकका सातवटा गाविस पूर्ण सरसफाई उन्मुखको तयारीमा, प्रतिगाविस तीनलाख रुपैंयाँ खर्च

पुष १९, इलामः साबिकका सातवटा इलामका गाविसहरु पूर्ण सरसफाई उन्मुखको तयारीमा रहेको छ । सुनगाभा बिकास संस्था इलामको सहजिकरण तथा ग्रामिण खानेपानी तथा सरसफाई कोष बिकास समिति (फनबोर्ड) को आर्थिक सहयोगमा साबिकका प्याङ्ग, नयाँबजार, चमैता फाकफोक, जीतपुर, इरौंटार र इभाङ्ग गाविसलाई पूर्ण सरसफाई उन्मुख गाविस घोषणा गर्नको लागि तयारी करीब अन्तिम चरणमा पुगेको पूर्ण सरसफाई कार्यक्रमका सरसफाई अधिकृत सरोज फागोले बताउनुभयो ।
फनबोर्डको आर्थिक सहयोगमा गतबर्ष २०७३ साल साउनबाट साक्फारा सहित आठ गाविसमा पूर्ण सरसफाई सम्बन्धि कार्यक्रम सुरु भएको हो । १८ महिना भित्रमा सक्नेगरी सुरु भएको यस कार्यक्रम अन्तर्गत साक्फारालाई गत गत कात्तिक २६ गते नै पूर्ण सरसफाई उन्मुख गाविस घोषणा गरीसकेको बताइएको छ । बाँकि सातवटा गाविसलाई आउँदो पुष मसान्तभित्र घोषणा गर्ने लक्ष्य राखेको बताइएको छ । पूर्ण सरसफाई गाविस हुनका लागि पाँच प्लस एक सुचकहरु पूरा हुनुपर्छ । ती सुचकहरु यी सातवटै गाविसमा ८० प्रतिशत पूरा भइसकेकाले ति गाविसलाई पूर्ण सरसफाई उन्मुख गाबिस घोषणा गर्नेगरी काम थालिएको हो । ति गाविसहरु सरसफाईका सुचकहरु पूरा भए नभएको भन्ने बारेमा जिल्ला स्तरमा गठन भएको जिल्ला खानेपानी तथा स्वचछता समन्वय समितिको कार्यदलका प्रतिनिधिले अनुगमन गरेको थियो ।
अनुगमनबाट प्राप्त भएको प्रतिबेदन पनि कार्यदलले जिल्ला समन्वय समितिका प्रमुख गणेश बराललाई बुझाइसकेको छ । अब सात गाविसमा पूर्ण सरसफाई उन्मुख गाविस घोषणा गर्ने भनेर मिति तोक्नका लागि सम्बन्धित नगरपालिका र गाउँपालिकालाई जानकारी गराउने सहजीकरण संस्था सुनगाभाका बिमल दाहालले बताउनुभयो । नेपाल सरकारले देशलाई सन् २०३० सम्म पूर्ण सरसफाइ उन्मुख देश बनाउने गरी सरकारले अभियानै चालेर काम गरीरहेको छ । यता इलाम जिल्लालाई भने सन् २०२५ सम्म पूर्ण सरसफाई उन्मुख जिल्ला बनाउने गरी साबिकको जिल्ला खानेपानी तथा स्वचछता समन्वय समितिले काम गरीरहे पनि नयाँ संरचना बनेकाले त्यो कामले निरन्तरता पाउने नपाउनेमा भन्नेमा अन्योलमा छ । फनबोर्डको सहयोगमा साबिकका आठ गाविसमा पूर्ण सरसफाई उन्मुख गाविस घोषणा भएपश्चात अन्य गाविसमा पूर्ण सरसफाईको कार्यक्रम कसरी अघि बढ्छ भन्ने बारेमा चिन्ता थपिएको जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले बताउनुभयो ।
यता फनबोर्डको सहयोगमा आठ गाविसमा सञ्चालित पूर्ण सरसफाई कार्यक्रममा फनबोर्डले प्रति गाविस डेढलाख र सम्बन्धित गाविसले डेढलाख रुपैंयाँ सहित प्रति गाबिस तीनलाख रुपैंयाँमा पूर्ण सरसफाई सम्बन्धि कार्यक्रम गरीरहेको छ । पूर्ण सरसफाई गाविस हुनका लागि चर्पीको प्रयोग, पानी प्रयोग सम्बन्धि सुरक्षित बानी, साबुन पानीले हात धुने बानी, खाना प्रयोग सम्बन्धि सुरक्षित बानी, सफा घर आँगन र सफा वाताबरण लगाएतका सुचकहरु रहने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता