मौसम मा सुधार सँगै ईलाममा पर्यटक को घुइचो (फोटो फिचर)
मौसममा सुधार आएपछि अहिले इलाममा पर्यटकहरूको आगमन तीव्र हुन थालेको छ। जाडो बढेसँगै इलाम घुम्न आउने पर्यटकहरू आउने क्रम बढ्न थालेको हो। पर्यटकहरू आउने क्रमसँगै होटल व्यवसायीहरूलाई पाहुना कसरी धान्ने भन्ने चिन्ता थपिएको छ। जिल्लाका प्रमुख पर्यटकीयस्थलमा पर्याप्त होटल र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकहरूलाई कसरी सुविधा दिने भन्ने चिन्ता थपिएको हो।
सन्दकपुर, पशुपतिनगर, कन्याम, अन्तु, माइपोखरी, जौबारी र पाथीभरालगायतमा यतिबेला पर्यटकको चाप बढ्न थालेको छ। मुख्य पर्यटकीयस्थल मानिने जिल्लाकै अग्लो डाँडा सन्दकपुर मा अहिले दिनहुँ २०० भन्दा बढी पर्यटक आउँदा स्थानीय होटलले थाम्न सकेका छैनन्। भारतीय सीमावर्ती सन्दकपुरमा एउटा अलि ठूलो र अन्य दुई साना होटल छन्।दार्जिलिङको हड्तालका कारण गत वर्षको तुलनामा पर्यटकहरूको संख्यामा केही कमी भए पनि दैनिक रूपमा पर्यट्क आउने क्र्म जारी छ ।
यतिबेला पर्यटकीय सिजन भएकाले देश विदेशबाट आउने पर्यटकको चाप बढेको भरीभ्रराउ छन ईलाम का होटल हरु । सन्दकपुरमा भारतपट्टि दर्जनभन्दा बढी होटल छन्। सन्दकपुर आउने नेपाली पर्यटक वासका लागि होटल नपाउँदा महँगा भारतीय होटलमा बस्नुपरेको गुनासो गर्छन्। ‘होटल पाइन्छ होला भनेर आइहालियो । कतै नेपाली होटल नपाएर महँगो भारतीय होटलमा बस्नुप¥यो’, सन्दकपुरमै भेटिएका पर्यट्क हरु को गुनासो रहेको थियो । नेपालतिर होटलहरू भए सस्तो मा बस्न पाईने थियो की भन्ने उनी हरु को भनाई थियो । यहाँ आएका प्रायः नेपाली पर्यटक होटलमा वास नपाएर निकै तलका चौँरी र भेडीगोठतिर बासका लागि झर्ने गरेका छन्।
सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, कुम्भकर्णलगायत नेपाल, भारत र भुटानका ६० भन्दा बढी हिमचुचुरा १८० डिग्रीमा हेर्न सकिन्छ। यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न पनि पर्यटकको भीड लाग्छ। सूर्योदयका लागि प्रख्यात अन्तु डाँडामा पनि यतिबेला पर्यटक खचाखच छन्। मेची पहाडी क्षेत्र पर्यटन विकास समितिले गत वर्ष नयाँ भ्यू टावर बनाइदिएपछि सूर्योदयको दृश्य हेर्न अन्तु आउने पर्यटकको संख्या बढ्दो छ। अन्तु पर्यटन विकास समितिका अध्यक्ष एवम् होमस्टे सञ्चालक धनकुमार आलेले दिनहुँ करिब डेढ सय पर्यटक यहाँ आइरहेको बताए। जिल्लामा लामो समयदेखि होमस्टे व्यवस्थापन गरिएको अन्तुमा व्यवस्थित होमस्टेचाहिँ करिब तीन दर्जन घरमा मात्रै छ। गाउँभर पर्यटक खचाखच छन ।
यहाँ आउने पर्यटक कन्याममा रहेको कन्याम इनलगायत फिक्कल, हर्कटे र सदरमुकामका होटल पुगेर वास बस्छन्। चियाबारी घुम्न, कञ्चनजंघा हिमाल हेर्न र स्थानीय अग्र्यानिक उत्पादनको स्वाद चाख्न कन्याममा पर्यटक आउने गरेका छन्। कन्याम का स्थानीय ‘कन्याम इन’ होटलका सञ्चालक टीका ओडारीले कन्याम अहिले पर्यटकले भरिएको बताए।
‘कतिपय पर्यटक यतै बस्छन्, कतिपयचाहिँ वासका लागि सदरमुकामसम्म पुग्छन्’, उनले भने। अहिले मौसम अत्यन्त सुन्दर हुने बेला भएकाले पर्यटक एकै पटक निकै आएको उनको भनाइ छ। जिल्लाकै माइपोखरी, टोड्के झरना, छिन्टापुलगायत पर्यटकीयस्थलमा पर्यटक आउने क्रम सुरु भएको छ।