रोङ गाउँपालिकाको केन्द्र ‘पहरी गाउँ’मा सर्ने

  • गोविन्द पौडेल
रोङ, १८ पुसः दक्षिणी पुर्वी इलामको रोङ गाउँपालिकाले पालिकाको मुख्यालय पहरी गाउँमा सार्ने भएको छ । गाउँपालिकाको दोश्रो गाउँसभाले सबै सदस्यहरुले सर्वसहमतले केन्द्र सार्ने निर्णय गरेको हो । केन्द्र सार्न हुदैन भन्ने प्रस्तावमा कुनै पनि मत खसेको थिएन । यस अघि गाउँपालिकाले सूचना निकालेर मुख्यालयको लागि कम्तीमा १५ रोपनी जमिन आवश्यक परेकोले उपलब्ध गराईदिन आव्हान गरेको थियो । 
कार्यपालिका सदस्य एव रोङ ५ का वडाअध्यक्ष युवराज खाप्तुवा राईले अघिल्लो गाउँसभामा गाउँपालिकाको केन्द हालकै स्थानमा राख्ने वा अन्य स्थानमा सार्ने भन्ने प्रस्तावमा ठाउँ छनौट गरी निर्णय गरिएको सभामा गाउँपालिका अध्यक्ष शमसेर राईले जानकारी दिए । सूचना आव्हान भएपछि हालको गाउँपालिका आसपासका दुई स्थानमा र रोङ ४ पहरी गाउँमा एक स्थानमा जग्गा उपलब्ध गराउन मनसाय पत्र प्राप्त भएको गाउँपालिकाले जनाएको छ । 
गाउँपालिकालाई जमिन उपलब्ध गराउन रोङ ३ का सोमदत्त अर्याल लगायतबाट १७ रोपनी आठ आना, सोही स्थानका होमबहादुर खड्काले आवश्यक परेजति र चन्द्रकला राई लगायतवाट १९ रोपनी जग्गाको मनसाय पत्र प्राप्त भएको जानकारी गराइएको छ । निवेदन प्राप्त भएको ३ वटै स्थानको विज्ञहरु सहितको सर्वदलीय टोलीले स्थलगत अवलोकन गरी स्थान छनौट गरिएको थियो । निकट भविष्यमा काम शुरु गरी भवन बनाई मुख्य कार्यालय सार्ने र हालको कार्यालय भएको स्थानमा अन्य कार्यालय राखिने निर्णय भएको छ ।
साबिक कोल्बुङ गाउँविकास समिति वडा नम्बर ४ र हाल रोङ ४ मा पर्ने पहरी गाउँ एउटा सानो गाउँ हो । यो वडामा हाल सम्म कुनै पनि सार्वजनिक कार्यालय छैन । 
मेची राजमार्गको भालुझोडा लसुने सडक खण्डको बाघखोर बाट करिब ६ सय मिटर पश्चिम पट्टी रहेको जग्गा प्लट मिलेकोले छनौट गरिएको अध्यक्ष शम्सेर राईले जानकारी दिएका छन् । मेची राजमार्गबाट नजिकै भएपनि विकास निर्माणको पूर्वाधारबाट पछाडि परेकाले त्यो ठाउँ छनौट भएकोमा त्यहाका बासिन्दा खुसी भएको स्थानीय राम राईले बताए ।  धेरै वर्ष अघि पहरी जातीको बस्ती भएकाले त्यस क्षेत्रको नाम पहरी गाउँ भएको हुन सक्ने पहरी गाउँका स्थानीय बृद्ध जितमान राईले बताए । 
त्यसैगरी गाउँसभाले रोङ गाउँपालिकाको सहकारी ऐन २०७४लाई पनि सर्वसहमत पारित गरेको छ ।  सोमबार सुरु भएको गाउँसभाको पहिलो दिन महिला स्वास्थ्य स्वयंसेविकाहरुको निःशुल्क पारिवारिक स्वास्थ्य बिमा गराउने, गाउँपालिकाको नाम रोङ नै राख्ने भन्ने लगायतको निर्णय भएको थियो । आफ्नो वडामा गाउँपालिकाको मुख्य कार्यालय सरेकाले आफूमा थप जिम्मेवारी आएको रोङ ४ का वडाअध्यक्ष सुर्य राईले प्रतिक्रिया दिएका छन्
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता