आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

इलाम, १७ पुस : पौस शुक्ल पूर्णिमा अर्थात आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी परमेश्वरीको व्रतकथा प्रारम्भ हुँदैछ । यस अवसरमा आजैदेखि माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ । 
यस वर्ष आजको दिन एक घडी र ८ पला अर्थात बिहान ७ बजेर २५ मिनेटसम्म चतुर्दशी तिथि रहने र सो घडी पछि पूर्णिमा तिथि आरम्भ हुने हुनाले आजदेखि नै पूर्णिमा व्रत बस्ने र श्री स्वस्थानी व्रत पनि सुरु भएको हो । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत गर्नुभएको र मनोकांक्षा पूर्ण भएपछि उहाँकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्री स्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ । 
 यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्न महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिने व्रत समेत बस्ने गर्छन् । श्री स्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि वास हुने विश्वास गरिन्छ । काठमाडौँ उपत्यकाबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यही बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्री स्वस्थानीको व्रत बस्छन् । भक्तजनहरू यो महिनाभित्र शालीनदीको तीरमा पुगेर स्नान गरी श्री स्वस्थानी माताको पूजा अर्चनाका साथै सो क्षेत्र वरपर रहेका स्वस्थानी व्रत कथामा उल्लेख भएझै नवराज ब्राम्हण, गोमा ब्राम्हणी, चन्द्रावतीको थलोमा पुगेर पूजा अर्चनासहित दर्शन गर्ने गर्छन् । आजैदेखि माघेस्नान अर्थात् मकरस्नान पनि सुरु भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता