- मनिषा चम्लागाईँ

सुरुङ्गा, २ भदौः आधुनिक, व्यवहारिक तथा व्यवसायिक शिक्षा पद्धतिलाई आत्मासाथ गर्न कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले बहस सुरु गरेको छ । शैक्षिक गुणस्तरलाई बृद्धि गर्ने लक्ष्यका साथ त्यस्तो बहस सुरु गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
शनिबार क्याम्पसले त्यस विषयमा विस्तृत योजना प्रस्तुत गरेको छ । क्याम्पसले निकट भविष्यमा नै आइसीटि रुम निमार्ण, सबै कक्षामा प्रोजेक्टरको व्यवस्था, वेबसाइट सहितको पुस्ताकलयको, वेचलर एजुकेशनमा ‘आइटीइ’ ‘वीआइटी’ सफ्ट्वेयरका कक्षा सञ्चालन जस्ता योजना अघि सारेको छ । क्याम्पसले प्राविधिक विषय शिक्षण लक्ष्यलाई प्राथमिकतामा राखेर अघि बढेको क्याम्पस प्रमुख विकास उप्रेतीले बताए । प्राविधिक शिक्षा तर्फ विद्यार्थीको लगाव बढेसँगै क्याम्पसले यस विषयमा बहस सुरु गरेको प्रमुख उप्रेतीको भनाइ छ । उनले भने, ‘प्राविधिक शिक्षाले रोजगार प्रदान गर्ने हुँदा यस विषयमा बहस सुरु गरिएको हो, पछिल्ला बर्षमा प्राविधिक शिक्षामा विद्यार्थी बढ्न थालेको देखिन्छ, यस तर्फ हाम्रो ध्यान केन्द्रित भएको छ ।’ कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्ययन गर्ने विद्यार्थीलाई मध्यनजर गरेर १६ वटा कम्प्यूटर सञ्चालनमा ल्याएको र थप ४वटा केही दिन भित्रमा सञ्चालनमा ल्याउने प्रमुख उप्रेतीले बताए । क्याम्पसले ‘अप्टिकल लिंक’ सहितको शिक्षण पद्धति अपनाइने उनले सुनाए ।
शैक्षिक अन्तरक्रिया तथा कम्प्युटर प्रयोगशालको उद्घाटन गर्दै प्रदेशसभा सांसद हिरा थापाले क्याम्पसले समय सापेक्ष शिक्षाको छनोट गरेर अघि बढ्नु पर्ने बताए । क्याम्पस सञ्चालक समितिले रोजगारमुखी शैक्षिक नीति तथा कार्यक्रम बनाएर अघि बढ्नु पर्ने थापाको सुझाव छ । उनले भने, ‘दृढ इच्छा शक्तिका साथ काम गर्नुहोस्, जसले गर्दा प्राविधिक शिक्षा कार्यान्वयनमा ल्याउन सहयोग पुग्ने छ ।’ प्राध्यापकहरु रोजगारमुखी नभएर सेवामुखी बन्नु पर्ने थापाको तर्क छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले यस वर्षको बजेट पूर्वाधार विकासमा खर्च गरेको सुनाए । प्रमुख पोखरेलले यस आर्थिक वर्षमा नगरबाट क्याम्पसलाई सहयोग नगरेको स्वीकार्दै आफ्नो ६ महिनाको पारिश्रमिक क्याम्पसले स्थापना गर्न लागेको अक्षयकोषमा दिने वचन दिए । प्रमुख पोखरेलले थप एक महिनाको तलब यस वर्षको छात्रवृतिका लागि क्याम्पसलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । कनकाई नगरपालिकालाई शैक्षिक हवको रुपमा परिचित गराउने लक्ष्य लिएको पोखरेलले सुनाए । उनले भने, ‘क्याम्पसमा सवारी साधान (बस)को अभावलाई पुरा गर्न पनि नगरपालिकाले छलफल गर्ने छ, आगामी वर्षसम्ममा क्याम्पसलाई बस उपलब्ध गराउने छौँ ।’
कांग्रेस नेता देउमान थेवेले बन्दहड्तालको समयमा पनि सञ्चालनमा आउने कनकाई क्याम्पस पूर्वको पहिचान भएको बताए । थेवेले क्याम्पले राखेका योजना उत्कृष्ट भएको बताउँदै यसलाई कार्यान्वयमा ल्याउन ढिला गर्न नहुने सुझाए । उनले भने, ‘प्राविधिक शिक्षा आजको माग हो, यसले विदेश पलायन हुने युवाशक्तिलाई स्वदेशमै अवसर दिन्छ यस तर्फ सञ्चालक समिति गम्भीर भएर लाग्नु पर्छ ।’
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडालले आगामी ३ वर्षमा झापाको अग्रणी क्याम्पसको रुपमा चिनाउने लक्ष्य रहेको जनाए । कनकाई नगरमा शिक्षित नागरिक रहेका कारण क्याम्पसलाई उत्कृष्ट बनाउन सबैले सहयोग गर्ने अपेक्षा लिएको चुडालले सुनाए । क्याम्पसले स्थापना कालदेखि नै यस क्षेत्रका आर्थिक अवस्था कमजोर भएका, किसान, मजदुरका छोराछोरीलाई शिक्षा प्रदान गर्दै आएको चुडालको भनाइ छ । क्याम्सलाई खर्च धान्न समस्या भएको बताउँदै नगर भित्रका प्रत्येक वडाले ३ जनासम्म विद्यार्थी शुल्कको बोझ लिए केही विद्यार्थीलाई छात्रवृत्तिमा पढाउन सहयोग गर्न आग्रह गरे । अध्यक्ष चुडालले नगरभित्रका सामुदायिक वन उपभोक्ता समिति, विभिन्न संघसंस्था समक्ष सहयोगको माग गरको सञ्चालक सदस्य टिका तिम्सिनाले बताए ।
कार्यक्रममा टिकाप्रासद उप्रेती, कुमारमणि पोखरेल, ख्याम ओली, रुद्र चिमरिया, डिल्लीराम पौडेल, भक्तबहादुर पौडेल, गोबिन्दप्रसाद पौडेल, निर्मलकुमार खतिवडा, मदनकृष्ण उप्रेती, रविन गुप्ता लगायतले क्याम्पसको स्तरोन्नतीमा सहयोग गर्ने प्रतिबद्धता जनाएको सहायक क्याम्पस प्रमुख तीर्थ खरेलले बताए ।
मुलुक विकासको आधार भनेकै व्यावसायिक र प्राविधिक शिक्षाको विस्तार हो । प्राविधिक शिक्षाको विकासका लागि थप बहस र विश्लेषण जरुरी छ । साथै कार्यान्वयनमा प्रतिबद्ध हुन आवश्यक छ । प्राविधिक विषय क्याम्पसले छान्नु पर्छ । प्राविधिक शिक्षा पढाउने विषयमा स्थानीय सरकारको पूर्ण सहयोग आवश्यक हुन्छ । स्थानीय सरकार शिक्षा उदासिनता बन्नै सक्दैन । आश्वासनले मात्र केही हुन्न कार्यान्वयन पक्ष प्रमुख हो । प्राविधिक शिक्षालाई व्यवसायिक बनाउन सके क्याम्पसको शैक्षिक स्तर उठ्नेमा सन्देह रहन्न ।