किन पर्छ पर्यटकको पहिलो रोजाईमा श्रीअन्तु ?

  • टीका खितवडा

इलाम, ९ असोजः सूर्योदय र सूर्यास्तको दृष्यका लागि देशकै पहिलो गन्तब्यका रुपमा परिचित श्रीअन्तु धेरै पर्यटकहरुको पहिलो रोजाईमा पर्ने गरेको छ । तराईभन्दा नजिकै र सडकको सहजताका कारणपनि श्रीअन्तु धेरै पर्यटकहरुको पहिलो रोजाई बन्ने गरेको हो । पूर्वी नेपालका सया पर्यटकीय स्थलहरु मध्ये सूर्योदय नगरपालिकामा रहेको श्रीअन्तुमा बर्षेनी हजारौ पर्यटक पुग्ने गरेका छन् । हुन त इलाममा धेरै पर्यटकिय गन्तब्यहरु छन् । तर अन्तुमा जस्तो सडकको सहजता सवै पर्यटकिय स्थलहरुमा छैन । हेर्दा निकै मनमोहक अन्तु डाँडामा सुर्योदय र सुर्यास्त अवलोकनको लागि आन्तरिक तथा बाहृय पर्यटकहरुको भिड लाग्ने गरेको छ ।
सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट १४ किलोमिटर पूर्वमा रहेको श्रीअन्तुमा सडक, संचार र खाना बस्नका लागि उल्लेख्य होमस्टे संचालनमा छन् । होमस्टेको स्वाद चाख्न र कामको थकान मेटाउन पनि यहाँ वर्षेनी पर्यटक बढ्ने गरेको अन्तु पर्यटक विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए । हरेक वर्ष ४० हजार भन्दा बढी पर्यटकहरु होमस्टेमा बस्ने गरेको आलेकोे भनाई छ । 
अन्तुको विकासका लागि समितिले गुरु योजना समेत तयार गरेको उनले बताए । वरिपरि चियाबारी, सल्लाका सुरिला रुखले वरिपरिवाट घेरिएको यस क्षेत्रमा पुग्दा साँच्चै स्वर्गीय आन्नद प्राप्त हुने गरेको झापाबाट श्रीअन्तु आएका एक पर्यटकले बताए ।  अन्तुमा पोखरी समेत छ । पोखरीमा डुंगा सयर र पोखरीको बिच भागमा बसेर सेल्फी खिच्नु पनि धेरै पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । 
यहाँ घुम्न आउने पर्यटकहरुलाई खान बस्नका लागि तीन दर्जनभन्दा बढी होमस्टे संञ्चालनमा रहेको स्थानिय रुद्र घिमिरेले बताए । अन्तु सूर्य पर्यटनमा मात्रै सीमित छैन । यहाँ अरू ठाउँको मौसममा जो यहाँ आउँछ, उसले मात्रै अनुभव गर्छ प्राकृतिक, ऐतिहासिक र हावापानीका हिसाबले अन्तु त्योभन्दा बढी आकर्षक रहेको छ । दृष्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि सूर्याेदय र सूर्यास्त अत्यन्त आकर्षक देखिन्छ । अन्तुको विकासका लागि केही योजनाहरु बनेका भए पनि अझै केही योजनाहरु बनाउन बाँकी रहेको होमस्टे संचालक समिति सदस्य एकराज घिमिरेले बताए । तर वर्षेनी पर्यटकहरुको चार्म बढ्दो क्रममा देखिएको उनी बताउँछन् । गएको असोज कात्तिक यता मात्र पनि यहाँ ४० हजारभन्दा बढी पर्यटकहरु आएको उनी बताउँछन् ।  
करिव तीन वर्षदेखि यस पोखरीमा पर्यटकको आगमन र आगमनलाई अझ रमणीय बनाउन ढुङगाको व्यवस्था गरिएको हो । स्थानीय युवा रुद्र घिमिरेका अनुसार यहाँ अहिले दुई वटा ढुङगा सञ्चालित छन् । अन्तु बाह्रै महिना पर्यटक आइरहन्छन् । हरियो गलैंचा ओछ्याएझैं चटक्क मिलेको चियाबारी, कोणधारी धुपी, सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरु बाली श्रीअन्तुको आकर्षण हुन् । प्रेममा परेका युवायुवती र हनिमुन मनाउन आउने नव दम्पतीहरुको पनि यहाँ उल्लेख्य उपस्थिति हुने गरेको छ । अन्तुबाट कञ्चनजंघालगायत हिमशृंखला पनि नजिकै देखिन्छन् भारतको पश्चिम बंगालका सयौं पर्यटक बर्सेनी यहाँ आउने गरेका छन् । तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुमा भिड लाग्ने गर्छ । नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बंगालबाट बढी पर्यटक आउँछन् ।
अरु वर्ष भन्दा यस वर्ष पर्यटकको आवागमन निकै बढेको र आम्दानी पनि बढेको होटल व्यवसायीहरु बताउछँन् । पर्यटक भित्रिँदा धेरै कुरामा फाइदा पुगेको स्थानियहरु बताउँछन् । यहाँ उत्पादन भएका तरकारी र चिया समेत अग्र्यानिक भएको भन्दै पर्यटकहरुको पहिलो रोजाई हुने गरेको छ । यो वर्खा सिजन हो । तर जिल्लाका अन्य पर्यटकिय स्थलहरुमा पर्यटकको खासै उपस्थिती नरहे पनि श्रीअन्तुमा पर्यटकहरुको भिड लागेको स्थानिय बताउँछन् ।  
मुख्य गरेर भदौ अन्तिमदेखि पर्यटकहरुको खचाखच रहने यहाँ ऐले पनि दैनिक एक सयको हाराहारीमा पर्यटकहरु जाने गरेको स्थानियको भनाई छ । पर्यटकको मागलाई ध्यानमा राखि यहाँ होमस्टे मात्र हैन सुविधा सम्पन्न होटलहरु समेत खुल्न थालेका छन् । पोखरीको वरिपरि प्रायः होटल तथा खाजा घरहरु मात्र छन् । तर वरिपरि डाँडा र बिचमा पोखरी भएका कारण पोखरीको सरसफाइमा ध्यान दिन नसकेको, बाहिरको फोहोरले पोखरी दुर्गन्धित हुन सक्छ । यसका चासो देखाउन पर्यटन समिति र स्थानियले जरुरी रहेको पर्यटकहरुको बुझाई रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता