मगमगको माग बढ्यो बजारमा


  • मनिषा चम्लागाईँ

झापा, १४ असोजः झापाको मेचीनगर–१४ दुवागढीबाट उत्पादन हुने मगमग चाउचाउले पूर्वमा राम्रो बजार पाएको छ । उत्पादन सुरु भएको छोटो समयमा नै मनषा थाई फुड्सको अभियानले राम्रो बजार पाएको हो ।
झापामा एक अर्बको लागतमा उक्त चाउचाउ उद्योग सञ्चालनमा आइरहेको छ । ‘अब हर घर मग्मगाउँछ’ भन्ने नाराका साथ मगमगले आफ्नो उत्पादनको परिचय दिएको छ  । झापाका उद्यमीहरु पर्शुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल, बुद्धि घिमिरे र अजय अग्रवालले संयुक्त लगानी उद्योग सञ्चालनमा आइरहेको छ । मनषा थाई फुड्स पूर्वकै पहिलो तयारी चाउचाउ उद्योग रहेको सञ्चालक बुद्धि घिमिरेले दाबी गरे । झापाको औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले चाउचाउ उद्योग सञ्चालनमा ल्याएको घिमिरे बताउँछन् । उनले भने, ‘हामीले नेपाली श्रमिकलाई काम दिएका छौँ, वेरेजगारीको समस्या हल गर्ने उद्देश्यले पनि उद्योग सञ्चालनमा ल्याएका हौँ ।’ उत्पादनको मूल्याङकन गर्ने जिम्मा उपभोक्तालाई नै दिने घिमिरे बताउँछन् । पूर्ण रुपमा सञ्चालनमा आउन बाँकी रहेको उक्त उद्योगमा हाल १ सय बढीले रोजगारीको अवसर पाएका छन् । 
उद्योगमा हालसम्मकै अत्याधुनिक प्रविधि र मेसिनको प्रयोग गरेर चाउचाउ उत्पादन शुरु गरिएको छ । उद्योगबाट दैनिक सात लाख बढी प्याकेट तयारी चाउचाउ उत्पादन हुन्छ ।  क्षमताको हिसाबले उद्योग नेपालको ठूलो चाउचाउ उद्योग भएको बताइएको छ । उद्योगबाट पूर्ण प्रशोधित तरिकाले चाउचाउ उत्पादन हुने सञ्चालकको दाबी छ ।
गुणस्तरीय उत्पादन हुने हुँदा एक प्याकेट चाउचाउ उत्पादन गर्न २० मिनेट लाग्ने अर्का सञ्चालक अजय अग्रवाल बताउँछन्  । उनले भने, ‘अत्याधुनिक मेसिन भएकाले मैदा लगाएपछि चाउचाउ सिधैँ प्याकेट भएर निस्कन्छ, काटुनमा लगाउने काम मात्र हातले गरिन्छ ।’ ‘चाउचाउ उत्पादनमा आवश्यक पर्ने कच्चापदार्थमा मैदा नेपालकै प्रयोग गछौँ, मसला भने नेपालमा नपाइने भएकाले भारतबाट ल्याउने गरेका छौँ’ अग्रवालले भने, ‘शुद्ध आँटालाई उद्योगमा फेरी चालेर मात्र चाउचाउ बनाउन प्रयोग गरिने भएकाले मगमग चाउचाउ अन्यको तुलनामा स्वास्थ्यका लागि लाभदायक भएको अग्रवाल बताए ।  
उद्योगबाट मगमग, प्यारी, रेलिमाई, गट्टुबट्टु ब्राण्डका चाउचाउ र चीजबल, चीजरिङ, कुटुकुटु, पोटेटो क्र्याकर, कर्न फ्लेक्स लगायतका उत्पादन हुने छन् । मगमगले ८१, ७० र ४५ ग्रामका तीन प्रकारका प्याकेट बजारमा ल्याएको छ । ८१ ग्रामको प्याकेटको मुल्य २० रुपैयाँ, ७० ग्रामको १५ रुपैयाँ र ४५ ग्रामको १० रुपैयाँ उपभोक्ता मुल्य कायम गरिएको छ ।
अन्तराष्ट्रिय स्तरमा पनि बजार बिस्तार गर्ने लक्ष्य उद्योगले राखेको छ । गुणस्तरियता र मानव स्वास्थ्यलाई ख्यालमा राखि उत्पादनन सुरु गरेको सञ्चालक बताउँछन् ।  पूर्वको बजारमा मगमगले सुरुवाती दिनमा जसरी बजारमा चर्चा पाएको छ यसलाई सोही अनुसार अघि बढाउन गुणस्तरीयतामा ह्रास आउन दिनु हुँदैन । गुणस्तरीय उत्पादनमा निरन्तरता दिए यस चाउचाउले राम्रो बजार पाउने सम्भावना देखिन्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता