- मनिषा चम्लागाईँ

झापा, २२ असोजः मेची भन्सार कार्यालय काँकरभिट्टाले एक महिनाको अवधिमा २० प्रतिशत भन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालयबाट हुने आयातमा बृद्धि हुँदा राजस्व संकलन बढेको हो । चाडपर्वको समयमा अनुमानित भन्दा बढी सामान आयात हुँदा राजस्व संकलनमा बृद्धि भएको हो । असोजको भन्सार महसुलको लक्ष्य २ अर्ब ८२ करोड १७ लाख ४२ हजार छ । त्यसमा २ अर्ब १३ करोड ८३ लाख राजस्व असुली भएको भन्सार स्रोतले जनाएको छ । भन्सार कर्मचारीका अनुसार ७५.७८ प्रतिशत राजस्व असुली भएको छ । यो महिना लक्ष्य अनुसार राजस्व संकलन भइरहेको मेची भन्सार कार्यालय प्रमुख टेकबहादुर अर्यालले बताए ।
अघिल्लो आर्थिक वर्षको सुरुवाती महिना साउनमा ५६ करोड, भदौमा ७१ करोड, ५२ लाख राजस्व संकलन भएको थियो । यस आर्थिक वर्षको साउनमा ७६ करोड, भदौ महिनामा ९४ करोड ७३ लाख राजस्व संकलन भएको मेची भन्सार कार्यालयका प्रमुख अर्यालले बताए । उनले भने, ‘गत वर्षको तुलनामा राजस्व बढी संकलन भए पनि लक्ष्य भन्दा कम राजश्व संकलन भएको छ ।’ क्षमताभन्दा लक्ष्य उच्च भएकाले लक्ष्य अनुसार संकलन गर्न समस्या भएको प्रमुख अर्यालको भनाइ छ । गत आर्थिक वर्षमा मेची भन्सार कार्यालयलाई ९अर्ब २० करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएको थियो । जसमा ४८ प्रतिशत राजस्व संकलन भएको थियो । आर्थिक आर्थिक वर्ष ०७५/०७६मा १२ अर्ब, ८२ करोड, ६१ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएको छ । जसमा हालसम्मको असुली २ अर्ब १९ करोड, १७ लाख, ३९ हजार ७७७ रुपैयाँ रहेको छ ।
झापामा ९ वटा छोटी भन्सार कार्यालय छन् । मुलुकमा चलेको आन्तरिक द्वन्दसँगै ६ वटा छोटी भन्सार बन्द भए । ती अहिलेसम्म सञ्चालनमा छैनन् । तर, भद्रपुर छोटी भन्सार कार्यालयको स्तोरोन्नति भएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टा मातहात रहेको भद्रपुर छोटी भन्सार विभागले छुट्टै भन्सारको दर्जा दिएको हो ।
अहिले झापामा दुई वटा भन्सार छन् । भद्रपुर भन्सार प्रमुखको जिम्मेवारी मेची भन्सार प्रमुख कै टेकबहादुर अर्यालले सम्मालिरहेका छन् । भन्सारमा आवश्यक कर्मचारी नरहेको अर्यालले बताए ।
भद्रपुर भन्सारले आर्थिक वर्ष ०७५÷०७६मा १५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म ४ करोड भन्दा बढी राजस्व संकलन भएको छ । गत वर्षको भदौमा एक करोड राजस्व संकलन भएकोमा यस आर्थिक वर्षको भदौमा २ करोड राजस्व संकलन भएको छ । भन्सारमा दैनिक १५ लाखदेखि २० लाखसम्म राजश्व संकलन हुँदै आएको प्रमुख अर्यालले जनाए ।