- सिताराम फुयल
तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिन कुकुरलाई टीका र माला लगाइदिएर मीठामीठा कुरा खान दिइन्छ । कुकुरलाई खान दिँदा द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ । ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ । अर्थात् वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु । तिमीहरू अहिंसक बन भनिन्छ ।
कुकुरलाई इमान्दार पशुको रुपमा मानिन्छ । मानिसले आफू जंगली अवस्थामै रहँदादेखि कुकुर पाल्न थालेको पुरातन विश्वास रहेको छ । सिकारदेखि लिएरघरको सुरक्षा गर्ने काम वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गरेर कुकुरले मानिसलाई साथ दिँदै आएको छ । यही गुणको कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्षको एकदिन भए पनि कुकुरको पूजा गर्न थालेका हुन् ।
हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसङ्ग छन्। वेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ । यस्तै अर्को पौराणिक प्रसङ्गमा यिनका छाउराहरूलाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग छ । यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा एउटा कुकुर साथै गएको तथा अन्तिममा युधिष्ठिरसित ऊ पनि स्वर्ग पुगेको कथा छ ।
उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूप बताइएको छ । कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन मासको पात खाने चलन छ। लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसका सबै पाप नाश हुन्छन् । त्यसैगरी यस दिन सबै पाप नाश गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ । यसो गर्दा नर्कमा जानु नपर्ने पौराणिक मान्यता रहेको छ