‘ठूला नेता मिलेका साढे ४ अरब निलेका’ भन्दै डा.केसीकाे पक्षमा नारा लाउने २१ अधिकारकर्मी गिरफ्तार

काठमाडौं । ठूला नेता मिलेका साढे ४ अरब निलेका भन्ने नारा लाउँदै प्रदर्शन गर्ने २१ अधिकारकर्मीलाई प्रहरीले संघीय संसद भवन नयाँबानेश्वरबाट गिरफ्तार गरेको छ ।
संस्थापक सभापति कृष्ण पहाडी रहेको मानव अधिकार तथा शान्ति समाजले भ्रष्टाचारको आरोप लागेका संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बिरोध एवं अनशनरत डाक्टर गोविन्द केसीको समर्थन गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको थियो ।
संसदलाई ढाट्ने मन्त्री रवीन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र १६ औं अनशनमा रहेका गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले धर्ना दिएको हो ।
धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति पहाडी, सभापति उत्तम पुडासैनी सल्लाहकारहरु होमकान्त चौलागाई, डा गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ जनालाई गिरफ्तार गरेको छ । 
त्यस्तै गिरफ्तार हुनेहरुमा काठमाण्डौ शाखा का.वा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, सुकदैव अधिकारी, वि.पी पौडैल, ईश्वरी नैपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रैष्ठ, विनीत अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजंग महत हुनुहुन्छ ।
गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । धर्नामा अधिकारकर्मीहरुले ठूला नेता मिलेका: साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार: साढे चार अरव भ्रष्टाचार, डा. केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार : मूल दोषीहरुलाई कारबाही गर, ढटुवा मन्त्री बर्खास्त गर लगायतका प्लेकार्ड बोकेका थिए । 
न्युज२४ बाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता