सुधारिएन इलाम अस्पताल

इलाम, ६ माघ — जिल्ला अस्पतालबाट ५० शय्यामा स्तरवृद्धि भएको इलाम अस्पताल सुधारिएको छैन । स्तरवृद्धि भएको वर्षौं बित्दा पनि सरकारी बेवस्ताका कारण आईसीयू लगायत अत्यावश्यक सुविधा उपलब्ध छैनन् ।
इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्मका बासिन्दालाई स्वास्थ्य उपचार पुर्‍याउने उद्देश्यले यो अस्पताललाई स्तर वृद्धि गरिएको हो । दरन्बन्दीअनुसार विशेषज्ञ डाक्टर नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । अस्पतालमा १० जना विषेशज्ञ डाक्कर हुनुपर्नेमा अहिले १ जना मात्र छन् ।

६४ जना कर्मचारी रहने व्यवस्थाअनुसार विषेशज्ञ डाक्टरसहित ५० जना स्वास्थ्यकर्मी यहाँ कार्यरत हुनुपर्छ । ‘हामीले पटकपटक माग गरेका छौं,’ मेडिकल सुपरिटेन्डन्ट डा. पवनजंग रायमाझीले भने, ‘सम्बन्धित विषयका डा. नभएकै कारण पर्याप्त उपकरण पनि आउन सकेका छैनन् ।’

चिकित्सक बन्न धेरै खर्च लाग्ने र इलाममा सरकारी सुविधा मात्रले उनीहरूलाई नपोसाउने भएकाले विषेशज्ञहरू नआउने गुनासो धेरैको छ । ‘सरकारी तवरबाटै चिकित्सक उत्पादन गरेर दुर्गममा पनि पठाउन पर्छ,’ रेडक्रसको आकस्मिक रक्तसञ्चार सेवाका संयोजक रतन चौधरीले भने, ‘यही अवस्थामा अस्पतालको अवस्था सुध्रन सक्ने देखिँदैन ।’
१५ औं सत्याग्रहका क्रममा भएका सम्झौता कार्यान्वयनलगायत ७ बुँदे माग राखेर डा.गोविन्द केसी इलाममा १६ सत्याग्रहका क्रममा आइपुगे । सत्याग्रहका क्रममा उनको स्वास्थ्य गम्भीर भएको भन्दै बिहीबार राति डा. केसीलाई काठमाडौं लगियो । माग पूरा नहुन्जेल उनको इलाम नछाड्ने अडान रहे पनि तत्काल आईसीयू र सीसीयू चाहिने भएको भन्दै रातारात काठमाडौं पुर्‍याउनु पर्‍यो ।
केसीको भन्दा फरक मुद्दा लिएर इलाम अस्पतालमै सत्याग्रहमा रहेका विजय थापालाई पनि सरकारी स्तरबाटै काठमाडौं पुर्‍याइयो । सर्वत्र चासो र बहस उठेको विषय भएकाले उनीहरूलाई सरकारले रातारात लग्यो । तर स्तर बृद्धि भएको वर्षौं वित्दा पनि सर्व साधारणका लागि भने यो अस्पताल रिफर सेन्टर जस्तै छ ।
अस्पतालको भौतिक पूर्वाधार पर्याप्त रहे पनि विषेशज्ञ डाक्टरकै अभावमा यहाँका बासिन्दा उपचारका लागि तराईका अस्पतालसहित राजधानी र भारतसम्म पुग्ने गरेका छन् । यो अस्पताललाई तत्काल क्षमताअनुसार नै सञ्चालन गरेर विकट पहाडी क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा पाउनुपर्ने स्थानीय प्रकाश चापागाईको भनाइ छ । ‘पूर्वाधारसँगै सो अनुरूपको सेवा नपाउनु दु:खको कुरा हो,’ उनले थपे, ‘यसका लागि सरोकारवाला निकाय गम्भीर बन्नैपर्छ ।’
अस्पताल प्रशासनले पनि दरबन्दीअनुसारको विषेशज्ञ र सेवासुविधा विस्तारका लागि नियमितत पहल भएको जनाएको छ । ‘एनआईसीयू, सीसीयूजस्ता सेवाको आवश्यकता देखिएको छ,’ अस्पतालकी प्रवक्ता रिता अधिकारीले भने, ‘नजिकै निजी अस्पतालसमेत नभएकाले यहाँ समस्या भएको हो भनेर आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता