मनाङलाई हराउँदै मदन भण्डारी गोल्डकपको उपाधी आर्मीको पोल्टामा


  • नमीन ढकाल

इटहरीः लिग लिडर मनाङ मस्र्याङ्दीलाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मीले इटहरीमा सम्पन्न मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी जितेको छ । प्रस्तावित रंगशालामा भएको प्रतियोगिताको फाइनलमा बलियो प्रतिद्वन्द्वी मनाङमाथि आर्मीले २–० को जीत निकालेको हो । आर्मीको जीतमा टंक बस्नेत र कप्तान भरत खवासले गोल गरे । खेलको ५ आँै मिनेटमा काउन्टरमा पाएको अवसरलाई बस्नेतले दायाँ बार च्याप्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ८८ औँ मिनेटमा कप्तान भरतले अग्रता दोब्बर बनाए । आफ्नै गोलपोष्ट नजिकै पदम तामाङले दिएको लामो पासमा मनाङका कप्तान विराज महर्जन र आसिफ मोहम्मदलाई छल्दै खवासले गोल गरेका थिए । जीतसँगै आर्मीले मदन भण्डारी स्मृती ट्रफी र नगद १६ लाख रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको मनाङले ८ लाख रुपैयाँ मात्र प्राप्त गर्न सफल भयो ।
प्रतियोगिता अवधिभरमा फाइनल खेलमा मात्र रातो कार्डको प्रयोग गरिएको थियो । मनाङका स्ट्राइकर आफिज ओलावालेले खेलको ६९ औँ मिनेटमा आर्मीका गोलरक्षक विकेश कुथूलाई फाउल गरेपछि रातो कार्ड पाए । त्यसअघि ३७ औँ मिनेटमा उनले पहेँलो कार्ड पाएका थिए । खेल अवधिभर मुख्य रेफ्री सुदिश पाण्डेले मनाङलाई १ रातो कार्डसहित ४ वटा पहेँलो कार्डको दर्शन गराए भने आर्मीका ३ जना खेलाडीले पहेँलो कार्ड पाए ।
खेलको सुरुवातबाट नै आर्मीले आक्रमण बुनेको थियो । मनाङका गोलरक्षक विशाल श्रेष्ठ गोल बचाउन निकै व्यस्त देखिन्थे । पहिलो हाफमा सुधारिएको खेल देखाएको मनाङले दोस्रो हाफमा लय कायम राख्न सकेन । 
पाएका केही राम्रा अवसर मनाङले सदुपयोग नगर्दा दोस्रो संस्करणमा समेत उपविजेतामा सीमित हुनुप¥यो । यसअघि गत संस्करणमा थ्री स्टारसँग १–० ले पराजित बन्दै मनाङ उपविजेता बनेको थियो । व्यक्तिगत विधातर्फ अधिकांश पुरस्कार आर्मीको पोल्टामा परेको थियो ।
खेलको म्यान अफ दी म्याच आर्मीका विमल पाण्डे घोषित भए । उनले आयोजकको तर्फबाट १० हजार र चलचित्र क्याप्टेनको तर्फबाट नायक भुवन केसीले नगद १० हजार प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका टंक बस्नेत घोषित बन्दै नगद २५ हजारसहित ४२ इन्चको एलइडी प्राप्त गरे ।
उत्कृष्ट गोलरक्षक विकेश कुथू, उत्कृष्ट मिडफिल्डर सन्तोष तामाङ, उत्कृष्ट प्रशिक्षक चुनबहादर थापा आर्मी टिमबाट चुनिँदा उत्कृष्ट डिफेन्स मनाङका सुरज बिक घोषित भए । उनीहरूले जनही २० हजार प्राप्त गरे ।
त्यसैगरी, प्रतियोगिताभर ३ गोल गरेका आर्मीका कप्तान भरत खवास सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्ट्राइकर घोषित हुँदै क्रमशः २५ हजार र २० हजार प्राप्त गरे । आयोजक राष्ट्रिय जागृतिका उमेश राई उदीयमान खेलाडी बन्दै २४ इन्चको एलइडी प्राप्त गरे । 
२०७५ को सिजनमा आर्मी र मनाङ ४ पटक आमनेसामने भएका छन् जसमा ३ प्रतियोगिता मनाङले जित्दा आर्मीको पक्षमा मदन भण्डारी गोल्डकप मात्र छ । जारी सिजनमा मनाङले शहीद स्मारक लिग र ३८ औँ गभर्नर्स गोल्डकपको उपाधी जित्दा आर्मीले विशाल मेमोरियल र मदन भण्डारीको उपाधी आफ्नो पक्षमा पारेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता