झापा गोल्डकपः हङकङलाई हराउँदै झापा ११ सेमिफाइनलमा प्रवेश

झापा २०, फागुनः झापा पाहुना टोली हङकङ नेप्लिज एकाडेमीलाई १–० गोलले पछि पार्दै आयोजक मग मग झापा ११ एफसीले मगमग झापा गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । 
डोमालाल रंगशालामा सोमबार भएको खेलमा झापा ११ को जीतका लागि कप्तान कर्ण लिम्बूले खेलको ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । निशान्त खड्काको क्रस पासमा हेडमार्फत गोल गर्दै लिम्बूले झापालाई अग्रता दिलाएका हुन् । 
बाहिरका ७ जनासहित हङकङ मैदानमा उत्रेको थियो । प्रतियोगिता अवधिभर झापाले गोल गर्ने थुप्रै अवसर गुमाएको थियो । खेलको ८औं मिनेटमा सञ्जोग राईको क्रस पासमा कर्ण लिम्बूले गरेको हेडर पोष्ट नजिकैबाट बाहिरियो । त्यसको एक मिनेटपछि झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओनियमाको पासमा लिम्बूले गोल गर्न सकेनन् । उनको प्रहार बार नजिकैबाट बाहिरिँदा अग्रता लिने अवसर गुमेको थियो । 
११औं मिनेटमा योगेश गुरुङले खाली पोष्टमा गोल गर्न सकेनन् । २५औं मिनेटमा फेरि कर्ण लिम्बूले हङकङका गोलरक्षक अभिजित रोयसँग वान भर्सेस वानमा पनि गोल गर्न सकेनन् । उनको कडा प्रहार गोलरक्षक रोयले फर्काउँदा झापाली समर्थक निरास हुनुपरेको थियो । ८५औं मिनेटमा झापाका लागि विदेशी खेलाडी फ्रान्सिस ओनियमाको शक्तिशाली प्रहार झापाली गोलकिपर दिनेश थापामगरले पञ्च गरेर फर्काए । 
हङहङले पहिलो हाफअघि झापाविरुद्ध खासै दबाब बनाउन सकेको थिएन । विपक्षी पोष्टमा कुनै खतरा प्रहार बुन्न नसकेको हङकङले दोस्रो हाफमा दबाब बनाउन थालेको थियो । ५४आंै मिनेटमा हङकङका सानोजेको प्रहार पोष्टभन्दा केही माथिबाट बाहिरियो । ६४औं मिनेटमा मोहम्मद दुम्बियाले खाली पोष्टमा गोल गर्न सकेनन् । गोलकिपर दिनेश थापामगर बिट भइसकेको अवस्थामा उनले गरेको प्रहार फ्रेममा पर्न नसक्दा हङकङ निरास हुनुपरेको थियो ।
खेलको इनज्युरी समयमा हङकङका दिपेश मोक्तानले गोलकिपर थापामगरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार झापाका गोलकिपर थापामगरले समाएपछि बराबरी गर्ने अवसर हङकङले गुमाएको थियो । 
खेलको म्यान अफ दी म्याच विजेता टिम मग मग झापा ११ का निशान्त खड्का घोषित भए । उनले १५ हजार रुपैंयाँ पुरस्कार पाए । मंगलबारको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका सचिवालय संयोजक गजेन्द्र पौडेलले जानकारी दिए । 
जीतपछि पोष्ट म्याच कन्फरेन्समा झापाका प्रशिक्षक प्रवेश कटवालले ६ जना अफ्रिकन खेलाडी सहभागी टिमसँग खेल्नु पर्दा झापाका खेलाडीले दबाब महसुस गरेको बताए । उनले आगामी खेलमा अझ सुधारिएको प्रदर्शन दाबी गरे ।
हङकङका म्यानेजर नविन राईले तालमेलको अभावमा स्कोर हुन नसकेको बताए । उनले फरक फरक स्थानबाट बोलाइएका खेलाडी भएका कारण खेलमा तालमेल हुन नसकेकोले गोल गर्ने अवसर सिर्जना हुन नसकेको सुनाए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता