इलामको नामसालिङमा विव्यस र गाउँपालिकाको द्वन्द्वले विद्यालय अस्तव्यस्त, पाँच महिनादेखि शिक्षकको तलब रोक्का

  • गणेश घिमिरे

इलाम, ४ चैतः जिल्लाकै पुरानो विद्यालय माईजोगमाई गाउँपालिका ३ स्थित नामसालिङ्ग माध्यमिक विद्यालय दिनप्रतिदिन अस्तब्यस्त बन्दै गएको छ । बिद्यालयको शैक्षिक गुणस्तर देखि बिद्यालयको हरेक गतिबिधिमा प्रश्न चिह्न खडा भएको छ । नमुना बिद्यालयको रुपमा छनौट भएको नामसालिङ्ग माविका शिक्षकहरुले अहिले पाँच महिनादेखि तलब पाएका छैनन् ।
प्रधानाध्यापक र बिद्यालय ब्यबस्थापन समितिले बिद्यालयमा मनपरी ढंगले गतिबिधि गरेको, बिद्यालयमा बेथिती बढेको, प्रअ र समितिको मिलेमतोमा आर्थिक हिनामिना गरेको, हालसम्म नमुना बिद्यालयका लागि गुरुयोजना समेत नबनाएकाले गाउँपालिकाले शिक्षकको तलब रोकेको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताए । तर एक/दुईजना ब्यक्तिको कारण समग्र शिक्षकको तलव नरोकेको उनले स्पष्ट पारे ।
‘शिक्षकहरुले बिद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको तथा बिद्यालयको शैक्षिक गुणस्तर नसुध्रिञ्जेल र अहिलेको अस्तब्यस्त अवस्थामा तलव नबुझने भनेर शिक्षकहरुकै सहमतिमा तलव निकासा रोकेको हो’ गाउँपालिका अध्यक्ष राईले भने ‘प्रअ र बिद्यालय ब्यबस्थापन समितिले बिद्यालयलाई पूरै नराम्ररी संग बिगारेका छन्, यसको सुधारमा हामी लागेका छौं ।
बिद्यालयका शिक्षकहरुले भने गाउँपालिकाले आफूहरुको तलव किन र के कारणले रोकेको भन्ने नै थाहा नभएको बताए । ‘गाउँपालिकाले तलव रोक्दा घरपरिवार चलाउन, छोराछोरी पढाउन समस्या भएको छ’ एक शिक्षकले भने ‘केहि एक÷दुईजना ब्यक्तिको कारण देखाएर आफूहरुको तलव त रोक्न पाइँदैन नि ।’
नामसािलङ माविमा नमुना बिद्यालय सञ्चालनका लागि नेपाल सरकारबाट डेढ करोड रुपैंयाँ बजेट प्राप्त भएको चार महिना भएको छ । तर प्रधानाध्यापक र ब्यबस्थापन समितिले गुरुयोजना नबनाउँदा केहि काम हुन नसकेको अध्यक्ष राईले आरोप लगाए । अहिले गाउँपालिका र ब्यबस्थापन समितिले एक–अर्कामा अख्तियारमा मुद्धा हालाहाल गर्दै आएका छन् ।
नमुना बिद्यालयको लागि करारमा प्रधानाध्यापक छनौट गर्नुपर्ने प्राबधान रहेको छ । त्यो कार्य समेत हुन सकेको छैन । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष योगेन्द्र पौडेलले गाउँपालिका अध्यक्षले प्रधानाध्यापकको राजिनामा मागेर शिक्षकको तलव रोकेको बताए । ‘नमुना बिद्यालयको लागि ब्यबस्थापन समितिले काम गरीरहेको छ’ बिब्यस अध्यक्ष पौडेलले भने ‘भन्ने बित्तिकै कुनैपनि काम हुन सक्दैन, चैत ७ गतेसम्म गुरुयोजना तयार भइसक्ने र गुरुयोजना बनेपछि नमुना बिद्यालयको काम क्रमश अघि बढ्छ ।’
गाउँपालिका अध्यक्षले ब्यबस्थापन समिति र प्रधानाध्यापकलाई बिभिन्न किसिमको आरोपहरु लगाएर भ्रम फैलाएको बताए । उनले आफूहरुले भ्रष्टचार गरे–नगरेको भन्ने कुरा केहिदिनपछि थाहा भइहाल्ने जनाए । गाउँपालिकाले ब्यबस्थापन समिति नै अबैधानिक छ भन्दै आएको छ । 
बिद्यालयका प्रधानाध्यापक प्रदिप देवले बिद्यालयमा धेरै समस्याहरु रहेकोले यसको समस्या समाधान गर्न आफूहरु लागि परिरहेको बताए । यसरी बिद्यालयमा भइरहेको भद्रगोल अवस्थाले बिद्यार्थीको पढाईमा प्रत्यक्ष असर पुगेको छ । झण्डै आधा बर्षदेखि तलव नपाएका शिक्षकले आफूमा निराशा छाउन थालेको बताएका छन् ।नेपाल समाचारपत्रबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता