साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको शान्दार सुरुवात

विराटनगर, २८ फागुन । विराटनगरमा आजदेखि सुरु भएको साफ च्याम्पियनशीप महिला फुटबलको पाँचौ संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ ।
विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा आयोजक नेपालले पाहुना भूटानलाई ३÷० ले हराउँदै विजयी सुरुवात गरेको हो । खेलको सुरुवातदेखि नै बललाई नियन्त्रणमा राखेको नेपालले पहिलो गोल गर्न भने १३ औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको पहिलो मिनेटमा नै अग्रता लिने महत्वपूर्ण मौका सावित्रा भण्डारीले चुकाउँदा मञ्जलीकुमारी योञ्जनले १३ औ मिनटमा गोल गर्न सफल भएपछि घरेलु टोलीले अग्रता लिएको थियो ।
उनले डिबक्स भित्रबाट गोल गर्न सफल भएकी थिइन । त्यस्को तीन मिनेटपछि नेपालका लागि ‘गोल मेसिन’ मानिएकी सावित्रा भण्डरीले एक्लो प्रयासमा गोल गर्दै नेपालको अग्रतालाई २० मा पु¥याएकी थिइन । यसपछि पनि भण्डारीले केही सुनौलो अवसरलाई गोलमा परिणत गर्न नसक्दा मध्यान्तरसम्म यही नतिजा कायम रहेको थियो ।
मध्यान्तर पछि पनि खेललाई नियन्त्रणमा राखेको नेपालले ५४ औं मिनेटमा अर्को गोल थपेको थियो । नेपालका लागि यसपटक निरु थापा सफल बनेकी थिइन । अनिता बस्नेतले गरेको क्रसलाई सावित्रा भण्डारीले मिलाएर थापालाई उपलब्ध गराएकी थिइन । हरेक प्रतियोगितामा फाइनलमा पुगेर उपाधिका लागि ‘अभागी’ बन्दै आएको नेपाल यसपटक भने घरेलु मैदानको फाइदा उठाउने पक्षमा देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता