कक्षा १२ को परीक्षा सुरु, ४ लाख २८ हजार परीक्षार्थी सहभागी

इलाम,१५ बैशाखः राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । 
बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २६  गते सम्पन्न हुनेछ । परीक्षामा आज पहिलो दिन देशभर अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको बोर्डका परीक्षा नियन्त्रक 
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कुल चार लाख २८ हजार ५२ जना 
परीक्षार्थी सहभागी छन् ।
बोर्डले परीक्षालाई स्वच्छ, मर्यादित र अनुशासित तथा विद्यार्थीमैत्री बनाउन सबैसँग आग्रह गरेको छ । कार्यालयले सातवटा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र पाँचवटा शाखा कार्यालयमार्फत परीक्षाको व्यवस्थापन गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिरिएका कारण झस्किएको बोर्डले प्रश्नपत्रको सुरक्षा व्यवस्थापनका लागि विशेष सुरक्षा निर्देशन दिएको परीक्षा नियन्त्रक शर्माले बताए । उनका अनुसार ७७ वटै जिल्लाका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरी परीक्षा केन्द्रनजिकका सुरक्षा निकायसम्म प्रश्नपत्रसमेत पुर्‍याइसकिएको छ ।
सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेका जिल्ला परीक्षा समन्वय समितिले केन्द्र निर्धारण, केन्द्राध्यक्ष नियुक्तलगायतको व्यवस्थापन गरेका छन् । 
परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्तःमनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता