झापामा फौजी किरा आतंक, सयौँ विगाहको धान नष्ट

झापा । धान उत्पादनको लागि उपयुक्त मानिएको झापाको धानबालीमा फौजी किराको प्रकोप देखापरेको छ । झापाको पश्चिम दक्षिणी क्षेत्रबाट देखा परेको फौजी किराको प्रकोप दैनिक बढ्दै जाँदा झापाका किसानहरु हैरान भएका छन् ।
झापाको गौरादह नगरपालिकाको वडा नम्बर–६ र झापा गाउँपालिकाको वडा नम्बर–३ मा फौजी किराको प्रकोप देखिएको छ । गौरादहमा मात्र करिब ५ सय विगाहा क्षेत्रफलमा लगाइएको धानबालीमा फौजी किराको प्रकोप देखा परेको हो । गौरादह–६ को बीरबल चौक आसपास मात्र फौजी किराले सयौं विगाह क्षेत्रफलमा लगाएको धान नष्ट गरेपछि कृषक चिन्तित बनेका हुन् ।
दिन भरी धानको गाँजमा लुक्ने र रात परेपछि किराले धानको डाँड, पात र टुप्पा खाने गरेको छ । फौजी किराले धानबालीलाई नष्ट गरेपछि कसरी प्रकोपको नियन्त्रण गर्ने भन्नेमा स्थानीय किसान अलमलमा छन् । प्रति विगाह ९० मनसम्म उत्पादन हुने धानमा फौजी किराको प्रकोप देखिएको हो । अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले समाधानको बाटो खोज्न सुरु गरेको वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र झापा, कृषि विकास निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरले भने किरा पहिचान भइसकेको र नियन्त्रणका लागि काम शुरु गर्न लागेको छ । बाली संरक्षण प्रयोगशालाले प्रदेश सरकार र कृषि ज्ञान केन्द्रमार्फत तत्काल औषधी व्यवस्थापन गर्न लागेको हो । कृषि प्राविधिकका अनुसार फौजी किरालाई नियन्त्रण गर्न नसके यसले अन्नबालीमा भयावह स्थिती सिर्जना हुने देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता