सम्बन्धका काँचुलीहरु (कविता)


  • - विष्णु प्रसाद काफ्ले

******
भ्रमित दुँनिया बहकिएका बेला
पक्कै सजिलो छैन यहाँ
र संसार सोचे जस्तो पनि छैन
गौडा गौडामा सत्य निमोठ्ने
ढाटहरु ठड्याईएका छन्
चोकचोकमा अन्धभक्तहरुको
चेतावनीयुक्त फर्मान् गर्जिएको छ
भन्छन् - तँ बोल्न पाउदैनस्
अझ कड्किन्छन्- खबरदार !
हो म यसरी नै गुज्रीरहेको छु
र, त्यहिँ भीडमा निश्वासिदै
बाहिर निस्कने प्रयत्नमा
पल पल छटपटाउदै छु
जहाँ पैसाकै लागि मान्छेहरु
ईमान र विवेक बन्धकी राखेर
माटो बेच्न उद्दत हुन्छन्
अस्मिता खुईल्याएर खुसि मनाउँछन्
अनि अदृश्य धन्दा चलाईरहन
फेरिरहन्छन्, सम्बन्धका काँचुलीहरु ।
*****
हिजो सम्म जे नभई हुन्थेन
जसको साहरा वेगर
उस्को अस्तित्वको कल्पना सम्म हुन्थेन
उसका लागि त्यो
टेक्ने लठ्ठी
अड्याउने पर्खाल
उक्लिने भर्‍याङ
अनि ओत लाग्ने छाहारी
त्यस्तै त्यस्तै अनेक
बस् उसका हरेक कुरा
तेसैभित्र मुखरित हुन्थ्यो
तेहि उसको आस्था र दर्शनहरु,
भरोसा र आधारहरु थिए,
तर आज
ऊ खुट्किला उक्लिएको छ,
धुरीमा पुगेको छ
अनि गिज्याउदै छ
हिले आँगनलाई
धुल्याउदै छ
सतिसालका खम्बाहरु
खोस्रिदैछ पर्खालका कुनाहरु
बङ्ग्याउदै छ
पुराना लठ्ठीहरु
किनकि,
ती सब अब उसलाई
बेकार लाग्न थालेका छन्
नचाहिने बोझ भएका छन्
तिनका बोलिहरु पनि
बिझाउने कर्कश हल्ला लाग्न थालेका छन्
उसलाई लाग्न थाल्यो
अब कहिल्यै धर्तिमा उभिनु पर्दैन
लठ्ठीको टेको,
पर्खालको आड
फूसको छहारी चाहिने छैन
उसलाई अब
ठिनेमिने, अबुझ, स्वाँठ र भेडाहरु
कहिल्यै नचाहिने भएको छ ।
*******
समय साँच्चै फेरिएको छ अचेल,
किनकि
जयकार र भक्ति नगाउनेहरु
अब मान्छे नै होईनन्
उसलाई महान नदेख्नेहरु
उसका लागि किमार्थ हक हुनै सक्दैनन्
जब जब म र म जस्ता
उसको कित्ता भित्र
कुँजिन नसक्ने भए पछि
उसका अहङ्काहरुको
स्तुति बन्न नसक्ने भए पछि
अनि त अचेल
उसँगका हरेक नाता र भरोसा तोडिएका छन्
त्यसैले उभित्र जागिरहने देवत्वका भ्रमलाई
लुकाईरहन पनि
फेरिएका छन् अझै फेरिरहने छन्
सम्बन्धका काँचुलीहरु ।
******
तर म अझै श्यामश्वेत तस्वीर झै
त्यहिँ चौतारो रुँघीरहेको छु
जहाँ,
विवेकले उठाउन नसक्ने
अनि लोभको झोला भरिने गरी
कल्पवृक्षबाट पैसा टिपौला भन्ने
आकांक्षा कहिल्यै राखिएन
बरु तप्प तप्प चुहिने
पसिनारुपी मोतिदानाहरुले पो
यो जिन्दगी पल्काई रहेछ,
अनि उहीँ अनवरत यात्राका लागि
समयले बाटो तन्काईरहेछ
यहि सङ्घर्षले नै हरेक पल भित्र
झन धेरै मज्जा थपिरहेको छ
त्यहिँ मज्जाको भ्रम भित्र म
एउटा रमिते बनेर
हेरिरहेको छु
उहीँ फेरिएका र फेरिरहने
भ्रमित सम्बन्धका काँचुलीहरु ।
*****
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता